ऋणीको सम्पत्ति लिलामीबाट सहकारी पीडितको रकम फिर्ता गराउने व्यवस्थासहितको अध्यादेश ल्याउँदै सरकार

१० लाखभन्दा बढी रकम बचत गर्न स्रोत अनिवार्य खुलाउनुपर्ने
पुस ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
ऋणीको सम्पत्ति लिलामीबाट सहकारी पीडितको रकम फिर्ता गराउने व्यवस्थासहितको अध्यादेश ल्याउँदै सरकार

काठमाडौं । सरकारले सहकारीको रकम अपचलन गर्ने सञ्चालक तथा ऋणीको सम्पत्तिबाट पीडितको रकम फिर्ता गराउने व्यवस्थासहितको अध्यादेश ल्याउने भएको छ ।

मन्त्रिपरिषद्‌बाट पारित भएको सहकारी नियमन प्राधिकरण गठन गर्नेसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको सरकारले ऋणीको सम्पत्ति लिलामीबाट बचतकर्ताको रकम फिर्ता गराउने व्यवस्था गरेको छ ।

सहकारीको ऋण लिएर खोलिएका कम्पनी तथा सम्पत्ति अदालतबाट रोक्का राखिएको भए बचत कर्ताको रकम फिर्ता गराउन प्राधिकरणले रोक्का फुकुवाका लागि सम्बन्धित अदालतमा अनुरोध गर्न सक्ने व्यवस्था पनि अध्यादेशमा गरिएको छ ।

त्यस्तै सहकारीमा १० लाखभन्दा बढी रकम बचत गर्न स्रोत खुलाउनुपर्ने छ । सहकारीसम्बन्धी छानबिन विषेश समितिको प्रतिवेदन कार्यान्वयन गर्न पनि सरकारले संसद् नचलेको समयमा अध्यादेश ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

एक प्रदेशबाट अर्को प्रदेशमा कार्यक्षेत्र भएको सहकारीले मुख्य कारोबार गर्ने संस्थामा ५० लाख, एक जिल्लाभन्दा बढी कारोबार गर्नेले २५ लाख, एक जिल्लामा मात्रै कारोबार गर्ने १० लाख रुपैयाँ राख्नुपर्ने छ । त्यसको विवरण हरेक तीन महिनामा पेस गर्ने कानुनी व्यवस्था गर्न लागिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement