मोरङ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले उमागौरी कृषि सहकारी संस्थाको निष्पक्ष छानबिनका लागि सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले पदबाट राजीनामा दिन माग गर्नुभएको छ ।
पार्टीको कोशी प्रदेश संसदीय दलले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा आङ्बोले निष्पक्ष छानबिनका लागि सभापति पोखरेलको राजीनामा माग गर्नुभएको हो । राजीनामा दिएर सत्य तथ्य छानबिन गर्न सहयोग गर्नुपर्ने उहाँको जोड छ ।
उमागौरी सहकारी ठगी प्रकरणमा पोखरेलकी श्रीमती अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।
अञ्जलासहित २५ जना फरार छन् । सहकारी ठगीमा जोडिएको भए पनि प्रहरीले अञ्जलालाई सोधपुछसमेत नगरी मुद्दा सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । यस्तै माओवादी केन्द्रले तत्काल कोशी प्रदेशसभाको हिउँदै अधिवेशनको माग गरेको छ ।