अख्तियारसम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा

पुस ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
अख्तियारसम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ संशोधन गर्न बनेको विधेयकमा प्रधानमन्त्रीको कुनै हस्तक्षेप नरहेको बताउनुभएको छ ।

बिहीबार समिति बैठकपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै सभापति खतिवडाले आवश्यक परेको बेला जोसुकैसँग छलफल गर्ने अधिकार समितिसँग भएको तर प्रधानमन्त्रीले यही विधेयकमा छलफल गरौं भनेर नबोलाएको बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीको व्यक्तिगत आरणमा आँच आउने र मान मर्यादा हुने किसिमले भ्रम फैलाइएको बताउनु भयो ।

उहाँले भ्रष्टाचारमा संलग्न दोषीहरु नउम्किने र निर्दोष नफस्नेगरी विधेयकमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले समितिमा छलफल गरेर कसैले दु:ख नपाउने गरी विधेयक संशोधन गर्ने दाबी गर्नुभयो ।

सभापति खतिवडाले भन्नुभयो, ‘प्रधानमन्त्रीले त्यसरी बोलाउनु भएको छैन । विधेयकको बारेमा हामी सबैसँग छलफल गर्छौं । हामी आवश्यक परेको खण्डमा मन्त्रीहरुलाई समेत बोलाएर छलफल गर्छौं । तर प्रधानमन्त्रीले यो विद्येकको बारेमा बोलाएर विधेयकमा छलफल गरौं भन्नुभएको छैन । सरकार, एउटा अख्तियारले चलाउने र एउटा प्रधानमन्त्रीले चलाउने हुँदैन । कानुन बनाउँदा भ्रष्टाचार अन्त्यका लागि अख्तियारले गर्ने काम पनि राम्ररी गरोस् भन्ने हाम्रो चाहाना छ ।'

उपसमितिले नीतिगत बाहेकका विषयमा मन्त्रिपरिषद्ले गरेको निर्णयमाथि पनि आयोगले अनुसन्धान गर्न सक्ने गरी संशोधन गर्न सुझाएको छ । अबको केही समयमा विधेयकमाथि छलफल सुरु गर्ने समितिको तयारी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement