काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत पुग्नुभएको छ ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार भारतीय पक्षबाट भ्रमणका लागि निम्तो आइसकेको छ । त्यही निमन्त्रणका आधारमा प्रधानमन्त्री ओली पुस २५ देखि २९ गतेसम्म भारतको पाँच दिने औपचारिक भ्रमणमा जानुहुने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । भारतीय पक्षले पठाएको निमन्त्रणा तल माथि नभए प्रधानमन्त्री ओलीको भ्रमण तोकिएकै मितिमा हुने छ । तर, तयारीका लागि थप समय चाहिने भए भ्रमणको मिति एक साता पर सर्न सक्ने छ ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति तय गर्नकै लागि परराष्ट्रमन्त्री राणा युरोपबाट दिल्ली जानुभएको हो । युरोप भ्रमण सकेर इन्डो-नेपाल इकोनोमिक कन्फरेन्समा सहभागी हुन नयाँदिल्ली पुग्नुभएकी परराष्ट्र मन्त्री राणाले प्रधानमन्त्रीको भ्रमणकोसमेत चाँजोपाँजो मिलाउनु हुने स्रोतले जनाएको छ । भ्रमणका बेला परराष्ट्रमन्त्री राणाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नु हुने बताइएको भए पनि जयशंकर यतिखेर विदेश भ्रमणमा रहनुभएको छ ।
परराष्ट्रमन्त्री राणाको सचिवालयले भने समकक्षी जयशंकरसँग भेटबार्ता गर्ने समय तय भइ नसकेको जनाएको छ । भारतमा रहँदा राणाले स्वास्थ्य उपचार समेत गराउनुहुने उहाँको सचिवालयले जनाकारी दिएकारी दिएको छ । राणा पुस १० गते स्वदेश फर्कने कार्यक्रम छ । परराष्ट्र उच्च स्रोतले भने अहिलेसम्म प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि औपचारिक निम्ता नआएको जनाएको छ ।
यद्यपि कान्तिपुर समाचारसँग कुरा गर्दै उद्योगमन्त्री दामोदर भण्डारी जनवरीभित्रै प्रधानमन्त्रीको भारत भ्रमण हु्ने जानकारी दिनुभएको थियो । परराष्ट्रमन्त्रीका रुपमा राणाको यो दोस्रो भारत भ्रमण हो । यसअघि राणा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि औपचारीक निमन्त्रणाको पत्र लिएर भारत पुग्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले गत मंसिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्नुभएको थियो । भ्रमणका बेला दुई देशबीच वेल्ट एन्ड रोड इनिसिएटिभ्स अर्थात् बीआरआई अन्तर्गतका १० वटा परियोजना अघि बढाउने सहमति भएको थियो ।