काठमाडौं । सभामुख देवराज घिमिरेले संघीयता कार्यान्वयनसँग सम्बन्धित कानुन निर्माण गर्न सक्रियतापूर्वक लागिरहेको बताउनुभएको छ ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आज गरेको कार्यक्रममा सभामुख घिमिरेले सबै क्षेत्र, लिङ्ग, भाषा, धर्म, संस्कृति, अल्पसंख्यक समुदायलगायतलाई सम्बोधन हुने गरी विकास तथा सेवाको ढाँचा निर्माण गरी काम भइरहेको बताउनुभएको हो । उहाँले तीन तहका सरकारबीचको अधिकार बाँडफाँट र कार्यान्वयनमा धेरै मतभेद नरहेको दाबी गर्नुभयो ।
संघीयता कार्यान्वयनको सुरुवाती चरणमा देखिएका कमिकमजोरी विस्तारै समाधान हुँदै गएको उहाँको भनाइ थियो । सभामुख घिमिरेले विद्यालय शिक्षा, निजामति ऐन, प्रहरी समायोजन जस्ता मुख्य काम कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले संघीयता आइसकेपछि सरकारी निकायहरुबीच समन्वयको अभाव देखिएको बताउनुभयो । मुख्यसचिव अर्यालले कतिपय पालिकाले बनाएका कानुन संघीय कानुनविपरीतका भएकाले पनि विवाद देखिएको दाबी गर्नुभयो ।