काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले दलित समुदायको अधिकार तथा विकाससम्बन्धी विधेयक संसदमा पेस गर्नका लागि आवश्यक गृहकार्यमा जुट्न निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले संसदको हिउँदे अधिवेशनभित्र संसद्मा विधेयक पेस गर्नेगरी गृहकार्यमा जुट्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको हो ।
समिति सभापति कमला पन्तले सरकारलाई निर्देशन दिँदै विधेयक निर्माणका लागि समितिले आवश्यक सहयोग गर्ने बताउनु भयो । उहाँले समिति दलित समुदायको अधिकारसम्बन्धी विधेयक निर्माणका लागि आवश्यक गृहकार्य गरिरहेको र उक्त गृहकार्यलाई प्रतिवेदनको रुपमा बुझाउने बताउनु भयो ।
उहाँले ऐन निर्माण गर्ने निकाय संसदीय समिति नभएको समेत स्पष्ट पार्नुभयो । दलित समुदायहरुमाथि राजनीति भइरहेको भन्दै उहाँले राजनीतिले आँखा नचिम्लिने गरी ऐन बनाउन जरुरी रहेको बताउनु भयो ।
सभापति पन्तले भन्नुभयो, ‘समितिमा पेस भएको संसद्को प्रस्ताव कार्यान्वयन उपसमितिको प्रतिवेदन सुझावसहित राष्ट्रिय सभामा छलफलका लागि पेस गर्ने । नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दलितका अधिकार तथा विकाससम्बन्धी विधेयक संसदमा पेस गर्नको लागि आवश्यक गृहकार्य अघि बढाउनेबारे निर्देशन दिन्छौं ।'