काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको बताउनुभएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
'हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लानेछौँ ', उहाँले भन्नुभयो, 'हाम्रो सरकारलाई सराप्नेहरु पनि नभएका होइनन् । सरकार अहिले ढल्छ, भरे ढल्छ भनेर धारे हात लगाउनेहरु छन् । यी दुई पुराना पार्टीले समाज सुधारको यात्रा सञ्चालन गर्दै आएक छन् । राजाका पालामा अनेक मुद्धा मामिला लगाएर जनतालाई फसाउने, जातीय द्वेष फैलाउने काम भएका थिए । हामी मानिस हौँ र मानिस भनेको सबै बराबर हुन्छ । जातपात भन्ने नचाहिने कुरा हो । यसको अन्त्यका लागि हामी विद्यमान कानुनमा आवश्यक संशोधनका लागि पनि लाग्नेछौँ ।'
प्रधानमन्त्री ओलीले जातीय छुवाछुत र साम्प्रदायिकता घृणा जस्ता कार्य समाज विकासको ऐजेरु भएकाले यसलाई फेदैमा उखेलेर फाल्न अहिलेको सरकार तत्पर रहेको बताउनुभयो ।
'मान्छे एउटै हो । जन्मिँदै कोही पनि श्रेष्ठ हुँदैन । जन्मिँदै श्रेष्ठ वा ठूलो जातको हो भनिनु मान्य हुँदैन । सरकारले त्यस्ता कुराहरुलाई मान्यता दिँदैन', प्रधानमन्त्री ओलीले भन्नुभयो ।