रूपन्देही । गृहमन्त्री रमेश लेखकले रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा कुनै पनि मानवअधिकारको उल्लंघन नभएको बताउनुभएको छ । बुधबार बिहान रूपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले लामिछानेमाथि कुनै ज्यादतिपूर्ण काम नगरेको र शान्ति सुरक्षाको विषयलाई दृष्टिगत गरेर राति चितवनबाट पोखरा लगिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “फुटपाथमा मकै पोलेर मकै बेच्ने र त्यसबाट आएको आर्जनले आफ्ना सन्तानको छाक काटेर बचाएर राखेको पैसा लुटिएको छ, तिनको मानवअधिकार छैन । तिनको मानवअधिकारको चिन्ता छैन । (लामिछानेमाथि) अनुसन्धान हुन्छ, मानवअधिकारको कुनै हनन भएको छैन । अनुसन्धान गर्दा कहिले प्रहरी कार्यालय घेरेको छ, कहिले सरकारी वकीलको कार्यालय घेरेको छ, कहिले अदालत घेर्न कोसिस गरेको छ । अनि भीडले न्याय गर्दछ?”
उहाँले भीडले नै न्याय गर्ने हो भने प्रहरी प्रशासन किन चाहियो भन्दै प्रश्न समेत गर्नुभयो । “सडकबाट न्याय प्रभावित गर्ने कोसिसहरू भएको हुनाले शान्ति सुरक्षा कायम गर्नका लागि उहाँलाई लैजानुपर्यो । उहाँ काठमाडौंबाट पोखरा राति जाँदा मानवअधिकार हनन हुँदैन, चितवनबाट पोखरा जाँदा हनन हुन्छ ? दूरी छोटो भएर हनन भएको हो ?”, उहाँले भन्नुभयो ।
गृहमन्त्री लेखकले गितेन्द्रबाबु (जीबी) राईलाई पनि नेपाल ल्याउने प्रयत्न भइरहेको बताउनु भयो । उहाँले भन्नुभयो, “जहाँसम्म जीबी राईको कुरा यहाँले गर्नुभयो । उहाँलाई पनि फर्काउने बारेमा प्रयत्न भइरहेको छ । हामीले गर्ने कुरा गरिरहेका छौं । त्यसका बारेमा अगाडि के हुन्छ हेरौं । हाम्रो कोसिस जारी छ, उहाँलाई पनि ल्याउने कुरामा । जो संलग्न छ, अनुसन्धान भइरहेको छ ।”