काठमाडौं । गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले चीनसँग बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर कांग्रेससँगकै सहमतिमा भएको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई देशबीच 'बीआरआई सहकार्य फ्रेमवर्क' मा सहमति भएको थियो । कांग्रेस कोशी प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले 'बीआरआई सहकार्य फ्रेमवर्क' मा हस्ताक्षर सत्तारुढ दलहरूबीचको सहमतिमै भएको प्रष्ट पार्नुभएको हो । मन्त्री लेखकले मुलुकको समग्र विकासका लागि आर्थिक सहायता लिन आवश्यक रहेको भन्दै बीआरआईमा ऋण लिने कुरा नभएको बताउनुभयो ।
बीआरआईमा ऋण लिने बाटो खुला राखेर सहमति गरेको भन्दै कांग्रेसभित्र आवाज उठिरहेको बेला गृहमन्त्री लेखकको यस्तो अभिव्यक्ति आएको हो । नेपाली कांग्रेसको कोशी प्रदेशस्तरीय भेला विराटनगरमा जारी छ । भेलामा सभापति शेरबहादुर देउवा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा लगायतका नेताले पनि बोल्ने कार्यक्रम छ।
सम्मेलनमा प्रदेश कार्यसमितिको वार्षिक कार्य प्रगतिको समीक्षाका साथै आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ । संघीयतापछि कांग्रेस कोशीमा पहिलोपटक प्रदेशस्तरीय भेला गरिरहेको हो । शेखर कोइराला पक्ष भने आफ्नै प्रदेशको सम्मेलन सहभागी भएको छैन । शीर्ष नेताहरू विराटनगर पुगिसक्दा कोइराला भने आज शोकसभामा सहभागी हुन चितवनमा हुनुहुन्छ ।