काठमाडौं । सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका एजेन्डामा सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख दुई दलका शीर्ष नेताहरुको बैठकले भ्रमणका एजेन्डामा सहमति गरेको हो ।
चीनले अघि बढाएको बेल्ड एन्ड रोड इनिसिएटिभ्स– बीआरआई अन्तर्गतका परियोजनाहरु तत्कालका लागि अनुदानमा अघि बढाउन दुई दल सहमत भएका हुन् । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा धेरै नयाँ परियोजनामा प्रवेश नगरी पुरानै समझदारीपत्रमा समावेश भएका एजेन्डामा चिनियाँ पक्षसँग सम्झौता गर्ने सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । यसलाई नेताहरुले परराष्ट्रनीतिका विषयमा दुई दलबीचको ऐतिहासिक समझदारी भनेका छन् ।
दुई दलबीच प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा रेल वे कनेक्टिभिटी तथा सीमापार प्रसारणलाइन विस्तारको परियोजना अघि बढाउने सहमति भएको छ । त्यसैगरी किमाथाङ्का सडक स्तरोन्नतिलगायतका विषयमा पनि सहमति भएको छ । रसुवागढी सुक्खा बन्दरगाह र अरनिको राजमार्ग स्तरोन्नति गर्ने विषयमा पनि नेपालले प्रस्ताव गर्ने सहमति भएको छ । यस्तै काठमाडौंको चक्रपथ विस्तार र टोखा–छहरे सुरुङमार्गको काम तत्काल अघि बढाउन चीनसमक्ष प्रस्ताव गरिने छ । नेपालले तय गरेका सबै परियोजनामा चीनसँग अनुदानको प्रस्ताव गरिनेछ ।
त्यसैगरी प्रधानमन्त्रीको चीन भ्रमणमा क्रममा केही नयाँ परियोजनासमेत अघि बढाउने तयारी नेपालको छ । नेताहरुले एउटा नयाँ जलविद्युत् आयोजना बनाउन चीनसमक्ष प्रस्ताव गर्ने सहमति भएको बताएका छन् । चीनको तीन दिने भ्रमण गरेर आज मात्र काठमाडौं फर्किएकी परराष्ट्रमन्त्री आरजु राणासँग छलफल गरेपछि दलहरुले प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डा तय गरेका हुन् । परराष्ट्रमन्त्री राणाले चिनियाँ पक्ष बीआरआईलाई अनुदानमा अगाडि बढाउन सकारात्मक रहेको बताउनुभएको थियो ।
बालुवाटार बैठकमा प्रधानमन्त्री ओलीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, एमालेका महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा सहभागी हुनुभएको थियो ।
त्यसैगरी, नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवासहित महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री राणा र गृहमन्त्री रमेश लेखक सहभागी हुनुभएको थियो । यसअघि बीआरआई अघि बढाउने बिषयमै कांग्रेस र एमालेबीच मतभेद रहँदै आएको थियो ।
प्रधानमन्त्री ओली सोमबार चीनको चार दिने भ्रमणका लागि बेइजिङ जाँदै हुनुहुन्छ । यो विषयमा प्रधानमन्त्री ओलीले चीन भ्रमणका विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउनुभएको छ ।