राज्य सत्ताप्रति जनतामा असन्तुष्टि, आक्रोश र वितृष्णा बढ्दै गयो : मोहन वैद्य

मंसिर १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
राज्य सत्ताप्रति जनतामा असन्तुष्टि, आक्रोश र वितृष्णा बढ्दै गयो : मोहन वैद्य

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका संयोजक मोहन वैद्यले जनताले राज्यसत्ताप्रति नै विकल्प खोज्नुपर्ने अवस्था आएको बताउनुभएको छ ।

सत्तारुढ दलहरु, राजनीतिक व्यवस्था र राज्यसत्ताप्रति नै जनतामा असन्तुष्टि, आक्रोश बढ्दै गएकाले त्यसको विकल्पको खोजी गर्ने अवस्था पैदा भएको उहाँको जिकिर थियो । बिहीबारबाट काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय एकता महाधिवेशनमा बोल्दै संयोजक वैद्यले मुलुकमा क्रान्तिका लागि पस्थिति अनुकूल बन्दै गएको दाबी समेत गर्नुभयो ।

उहाँले क्रान्तिकारी कम्युनिष्ट आन्दोलन हालका लागि कमजोर अवस्थामा रहेको स्वीकार गर्दै आगामी दिनमा बलियो भएर जाने विश्वास व्यक्त गर्नुभयो । संयोजक वैद्यले मुलुकमा वैकल्पिक राजनीतिक शक्तिको नेतृत्व क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुले लिने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकार सञ्चालक राजनीतिक दलहरु र समस्त व्यवस्था तथा राज्यसत्ताप्रति नै जनतामा असन्तुष्टि, आक्रोश तथा वितृष्णा बढ्दै जाने र विकल्पको खोजी गर्ने अवस्था पैदा हुन थालेको छ । उक्त कुराहरुमाथि दृष्टि दिँदा आज एकातिर क्रान्तिका लागि वस्तुगत परिस्थिति अनुकूल बन्दै जान थालेको देखिन्छ । परन्तु अर्कोतिर आत्मागत परिस्थिति भने कमजोर नै रहेको छ ।'

संयोजक वैद्यले साम्राज्यवादी र प्रतिक्रियावादीहरुले मुलुकलाई संकटको डिलमा पुर्‍याएको समेत बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement