एमाले र कांग्रेस बीआरआई कार्यान्वयनको पक्षमा : गगन थापा

मंसिर १२, २०८१ |सुशीला पाठक
एमाले र कांग्रेस बीआरआई कार्यान्वयनको पक्षमा : गगन थापा

मोरङ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमाले ‘बेल्ट एन्ड रोड इनिशिएटिभ’ (बीआरआई) कार्यान्वयनको पक्षमा रहेको बताउनु भएको छ । विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरूसँग कुरा गर्दे महामन्त्री थापाले देशभित्रको स्रोत र साधनले मात्र विकास गर्न नपुग्ने भन्दै ठूलो पूँजी आवश्यक रहेकाले मित्रराष्ट्रहरूसँग अनुदानको अपेक्षा गरिएको स्पष्ट पार्नु भयो ।

उहाँले बहुपक्षीय दातृ निकायबाट सस्तो र सहुलियतमा ऋण लिने पक्षमा कांग्रेस र एमाले रहेको पनि स्पष्ट पार्नु भयो । उहाँले अमेरिका, भारत, चीन, जापान जुनसुकै राष्ट्रबाट पनि सस्तोमा ऋण लिन कांग्रेस र एमाले तयार रहेको धारणा राख्नु भयो ।

उहाँले सन् २०१७ मा कांग्रेस र माओवादीको सरकार हुँदा तत्कालीन परराष्ट्रमन्त्री प्रकाशशरण महतले बीआरआई सम्झौता गरेको भन्दै योभन्दा अगाडि चीनसँग भएका दर्जनौं सम्झौताहरू भएका तर कार्यान्वयन नभएकाले ती सम्झौताहरूले पूर्णता पाओस् भन्ने अपेक्षा रहेको पनि बताउनु भयो ।

उहाँले नेपाली कांग्रेस र एमालेबीच संविधान संशोधनको विषयमा साझा धारणा बनाउन पहल भइरहेको बताउनु भयो । उहाँले पहिले कांग्रेस र एमालेका बीचमा साझा धारणा बनाउने त्यसपछि संविधान निर्माणका क्रममा रहेका नेकपा माओवादी केन्द्र, मधेशवादी दल लगायत अन्य दलहरूसँग छलफल र बहस गर्ने पनि प्रष्ट पार्नु भयो ।

संविधान संशोधन गर्दा कसैले पनि चाहेर पनि संविधानका मूलभूत कुराहरू संशोधन गर्न नसक्ने स्पष्ट पार्नु भयो । उहाँले संघीयता, गणतन्त्र, समावेशिता, समानुपातिक निर्वाचन प्रणाली, बहुदलीय व्यवस्था, संसदीय व्यवस्था परिवर्तन गर्न नसक्ने प्रष्ट पार्नु भयो ।

उहाँले नेपाली कांग्रेस र नेकपा एमाले विकासका सवालमा एक रहेको पनि स्पष्ट पार्नु भयो । बाहिर आएको हल्ला जस्तो वास्तविकता नभएको उहाँको भनाइ थियो ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement