काठमाडौं । नेकपा एमाले बाँके जिल्ला कमिटीले लुम्बिनी प्रदेशका सांसद दुर्गाप्रसाद चौधरीलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ ।
सामाजिक सञ्जालमा पार्टी हितविपरीतका कुराहरू लेख्नेलगायत गतिविधि गरेको भन्दै चौधरीलाई निलम्बन गरिएको एमाले बाँके जिल्ला कमिटीले आज जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
बाँके क्षेत्र नम्बर १ को ख बाट प्रत्यक्ष निर्वाचित चौधरी माओवादीबाट एमाले प्रवेश गरी प्रदेश कमिटी उपसचिव बन्नुभएको थियो। तर गत वर्ष प्रदेश अधिवेशनमा उपसचिवमा पराजित भएपछि उहाँले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको आलोचना गर्दै आउनुभएको थियो ।
सार्वजनिक आलोचना गरेकै कारण चौधरीलाई बाँके एमालेले स्पष्टीकरण सोधेको थियो । यसैबीच निलम्बित चौधरीले पार्टी विधानविपरीत आफूलाई कारवाही गरिएको आरोप लगाउनुभएको छ ।
उहाँले समय आएपछि ईट्टाको जवाफ पत्थरले दिनेभन्दै राज्यमा आवाज नपुग्ने समुदायको आवाज सधैं बोलिरहने बताउनु भएको छ । साथै उहाँले एमालेमाथि आरोप लगाउँदै भन्नुभएको छ- मीन बहादुर गुरुङ जस्तासँग फ्रीमा दान लिएर जीवन चलाउँदैन। जतिदिन बाँच्छु आफ्नै पौरखमा ।