डडेलधुरा । एउटा निर्वाचन जितेपछि अर्को निर्वाचन लड्न मात्रै जिल्ला पुग्ने नेताको छवि बनाउनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यसपटक भने दुई वर्षमै मतदाता भेट्न गाउँ पुग्नुभएको छ । २०४८ सालयताका निर्वाचनमा निरन्तर विजयी हुँदै आउनुभएका देउवा चुनाव लड्नबाहेक अरु समय मतदाता भेट्न बिरलैमात्र जिल्ला जानुहुन्छ । तर यसपटक जिल्ला पुगेर उहाँले औपचारिक कार्यक्रम नराखी व्यक्तिगत भेटघाटलाई बढी महत्व दिनुभएको छ । यसको भित्री कारण के होला त ?
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर २०७९ सालको प्रतिनिधिसभा निर्वाचन जितेको दुई वर्षपछि मतदाता भेट्न यति बेला गाउँ-गाउँमा पुगिरहनु भएको छ । व्यक्तिगत र धार्मिक यात्रा नाम दिइए पनि उहाँ जिल्लाका सातै स्थानीय तहका मतदाता भेटघाटमा व्यस्त हुनुहन्छ । कांग्रेस राजनीतिमा ५० वर्षदेखि सक्रिय ७९ वर्षीय देउवा २०४८ सालयता डडेलधुरामा निरन्तर अपराजित हुनुहुन्छ ।
चुनाव जितेर काठमाडौं गएपछि अर्को चुनावमा मात्रै भोट माग्न फर्किने गरेको आरोप खेप्दै आउनुभएका देउवा यसपालि भने दुई वर्षमै मतदातालाई भेट्न गाउँ पस्नुभएको छ । औपचारिक सभा र भेला नगरी देउवाले आफ्ना पुराना दौतरी र व्यक्तिगत भेटघाटलाई बढी महत्व दिएको देखिन्छ ।
राजनितिक जीवनको उत्तराद्धर्धमा पुगेका देउवाको यसपटकको जिल्ला दौडाहालाई अर्थपूर्ण रुपमा हेरिएको छ । जिल्ला आउँदा सधैं नेता कार्यकर्ताको घेरासहित तामझाम देखाउने देउवा यति बेला भने रहेक व्यक्तिका कुरा सुन्नमै व्यस्त देखिनुहुन्छ ।
एउटा चुनाव जितेपछि अर्को चुनावमा मात्रै आउने आम चरित्र भन्दा यसपटक भने मतदाताको अपेक्षा विपरीत उहाँ फरक रुपमा प्रस्तुत हुनु भएको छ । निर्वाचन बाहेकको समय अरु बेला देउवा यति लामो समय जिल्लामा बसेको सम्भवत पहिलो पटक हो ।
एक साता पछि देउवापत्नी तथा परराष्ट्रमन्त्री आरजु राणा पनि जिल्ला आइपुग्नु भएको छ । देउवाले उहाँको उत्तराधिकारीको रुपमा हेरिनुभएकी पत्नी आरजुलाई पनि जिल्ला बोलाएर भेटघाट बाक्लो पार्नु भएको छ । कार्यकर्ताको मनस्थिति बुझेर देउवा आगामी निर्वाचनमा आफैँ लड्ने कि उत्तराधिकारीलाई अघि सार्ने भन्ने रणनीतिमा लागेको अड्कल काटिएको छ ।