मोरङ । कोशी प्रदेशको सत्ता सहकार्यलाई प्रभावकारी बनाउन एमाले र कांग्रेसको संयन्त्र निर्माण गरेका छन् । संयन्त्रले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै बैठकको निर्णय सार्वजनिक गरेको हो ।
आज बसेको पहिलो बैठकले दुई दलीय प्रदेश संयन्त्रको बैठकको अध्यक्षता पालैपालो गर्ने निर्णय गरेको छ । नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज एवं पूर्व मुख्यमन्त्री शेरधन राईले प्रदेश संयन्त्रबाट सहजीकरण गरी एक हप्ताभित्र प्रदेशका १४ वटै जिल्लामा संयन्त्र गठन गर्ने निर्णय पनि भएको जनाउनु भयो ।
सरकारका कामकाजलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनका लागि सहजीकरण गर्ने उद्देश्यले संयन्त्र निर्माण गरिएको हो । कोशी प्रदेशको दुई दलीय संयन्त्र र कोशी प्रदेश सरकारका मन्त्रीबीच प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा आगामी मंसिर १४ गते विराटनगरमा छलफल गर्ने निर्णय बैठकमा भएको छ ।