पछिल्लो ३ वर्षमा नेपालमा १६ सय ६६ अनलाइन सञ्चार माध्यम सूचीकृत

माघ २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
पछिल्लो ३ वर्षमा नेपालमा १६ सय ६६ अनलाइन सञ्चार माध्यम सूचीकृत

काठमाडौं । पछिल्लो ३ वर्षमा नेपालमा एक हजार ६ सय ६६ अनलाइन सञ्चार माध्यम सूचीकृत भएका छन् ।

नयाँ खुलेका अनलाइनका सम्पादक र सञ्चालकहरूलाई पत्रकार आचारसंहिताको अभिमुखिकरण दिने क्रममा आइतबार प्रेस काउन्सिलले उक्त विवरण सार्वजनिक गरेको हो ।

अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले स्वच्छ, मर्यादित, तथ्यपूर्ण र विवादरहित पत्रकारिताका लागि हरेक सञ्चारकर्मीले पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रेसले पाएको स्वतन्त्रताको अर्थ जथाभावी अधिकार वा स्वच्छन्दता नभएको प्रसङ्ग ल्याउँदै उहाँले युट्युबसहित सामाजिक सञ्जाल प्रयोग गर्ने सबै सञ्चार माध्यम जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बलियो बनाउन सञ्चारकर्मी स्वंयको हात महत्वपूर्ण हुन्छ । अपूर्ण, मिथ्या, कमजोर र असन्तुलित सूचना सम्प्रेषणले प्रेस जगतलाई नै कमजोर बनाउँछ । यसतर्फ काउन्सिल सचेत भई जिम्मेवारपूर्ण ढङ्गले काम गर्दै आएको छ । अभिमुखिकरण कक्षा यसैको एउटा श्रृङ्खला हो,' अध्यक्ष बस्नेतले भन्नुभयो ।

कार्यक्रममा अग्रज पत्रकार एवं गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराई र काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले विषयवस्तुमाथि सहजीकरण गर्नुभएको थियो ।

पर्याप्त मेहनतसहित निष्पक्ष ढङ्गले गरिने पत्रकारिताले नै विश्वसनीयता बढाउने अग्रज पत्रकार भट्टराईको सुझाव थियो । उहाँले पत्रकार तथा सञ्चार माध्यमले गर्न नहुने विभिन्न कामको बारेमा प्रकाश पार्नुभएको थियो ।

अनलाइन सञ्चार माध्यम सञ्चालन हुनुअघि सञ्चालक र सम्पादकलाई अनिवार्य रुपमा अभिमुखिकरणमा सहभागी हुनुपर्ने व्यवस्था काउन्सिलले गरेको छ । पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने पत्रकारलाई पनि काउन्सिलले यस्तो कक्षामा सहभागी गराउँदै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement