सरकार असफल भएपनि अहिले नै ढाली हाल्ने पक्षमा माओवादी केन्द्र छैन : अध्यक्ष दाहाल

कार्तिक १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
सरकार असफल भएपनि अहिले नै ढाली हाल्ने पक्षमा माओवादी केन्द्र छैन : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको बताउनुभएको छ ।

अध्यक्ष दाहालले सरकारको सय दिन असफल रहेको पनि दाबी गर्नुभयो । उहाँले सरकार निर्माणको प्रक्रिया नै सही विधि र प्रक्रियाबाट नभएको गुनासो गर्दै सरकार निर्माणको उद्देश्य नै गलत रहेको जिकिर गर्नुभयो । 

‘सरकार असफल नै छ । तर फेरि सरकार त बनेकै छ । मैले यो कुरा पनि भनेको छु कि सरकार राष्ट्र र जनताप्रति अझ गम्भीर र संवेदनशील होस् र सकारात्मक काम गरेर जाओस् भन्ने छ,’ उहाँले भन्नुभयो, ‘यो सरकार अहिले नै ढाल्नुपर्छ भन्ने माओवादी केन्द्रको र मेरो कुनै मनशाय छैन । किनभने त्यसो गरेर फेरि जनतालाई हैरान पार्ने भन्दा यही सरकारले राम्रो गर्दिए हुन्थ्यो भन्ने छ ।’

वर्तमान सरकारले राष्ट्र र जनताको पक्षमा धेरै काम गर्न सम्भव नरहेको बताउनु भयो । अध्यक्ष दाहालले अहिले नै वर्तमान सरकार ढाल्ने पक्षमा माओवादी केन्द्र र आफू नरहेको भन्दै सरकार ढालेर जनतालाई पुनः हैरान बनाउने मनशाय नरहेको बताउनु भयो । 

सरकारले जनताका लागि काम नगरेको भन्दै सरकार राम्रो उद्देश्यमा नै आधारित नदेखिएको दाहालको दाबी छ । अध्यक्ष दाहालले राष्ट्र र जनताप्रति अझ गम्भीर र संवेदनशील बन्न सरकारलाई सुझाव दिँदै जनताको पक्षमा सकारात्मक काम गर्न आग्रह गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement