प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन माग गर्नेबारे विपक्षी दलहरुबीच छलफल

सरकारले दल फुटाउन अध्यादेश ल्याउन लागेको विपक्षीको आशंका
कार्तिक २, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन माग गर्नेबारे विपक्षी दलहरुबीच छलफल

काठमाडौं । विपक्षी दलहरुले सरकारले जनसरोकारका मुद्दामा चासो नदिएको भन्दै प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन माग गर्नेबारे छलफल गरेका छन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले सुरुमा सरकारलाई ज्ञापनपत्र बुझाउने र त्यसपछि पनि आफ्ना माग सम्बोधन नगरेमा विशेष अधिवेशन माग गर्ने निष्कर्ष निकालेको हो । आफूहरुले उठाएका जनसरोकारका मुद्दामा सरकार गम्भीर नदेखिएको विपक्षी दलहरुको आरोप छ ।

विपद्को पूर्वसूचना हुँदाहुँदै पनि सरकारले पूर्वतयारी नगरेको र उद्धार, राहत र पुनःस्थापनामा ध्यान नदिएको विपक्षीको आरोप छ ।

यस्तै, सरकारले दल फुटाउन अध्यादेश ल्याउने तयारी गरेको आशंका पनि विपक्षी दलहरुले गरेका छन् । यस विषयमा सरकार, सभामुख र राष्ट्रपति समेतको ध्यानाकर्षण गराउने उनीहरुले जनाएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समसामयिक विषयमा छलफल गर्न भन्दै आज विपक्षी दलहरुको बैठक बोलाउनु भएको हो ।

बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा र आम जनता पार्टीका नेता सहभागी थिए । सरकारमा सहभागी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी पनि विपक्षी दलको बैठकमा सहभागी थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.