हमास प्रमुख सिनवर मारिएको उपनेता खलिलद्वारा पुष्टि

इजरायली सेना गाजाबाट फिर्ता नभएसम्म बन्धक रिहा नगर्ने अडान
गाजामा इजरायलको आक्रमणमा थप २८ को मृत्यु
कार्तिक २, २०८१ |कान्तिपुर टीभी संवाददाता
हमास प्रमुख सिनवर मारिएको उपनेता खलिलद्वारा पुष्टि

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासका उपनेता खलिल-अल-हाय्याले प्रमुख नेता याह्या सिनवर मारिएको पुष्टि गर्नुभएको छ । उहाँले आज हमास प्रमुख मारिएको पुष्टि गर्नुभएको हो ।

उपनेता खलिल-अल-हाय्याले सिनवरको हत्यापछि पनि हमासको लक्ष्य अन्त्य नभएको बताउनुभएको छ । उहाँले गाजा युद्धविराम र इजरायली सेना गाजाबाट पूर्णरुपमा फिर्ता नभएसम्म बन्धक रिहा नहुनेसमेत स्पष्ट पार्नुभयो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पनि गाजा युद्धको अन्त्य नभएको बताउनुभएको छ । तर, पश्चिमा राष्ट्रहरुले भने सिनवर मारिएपछि गाजा युद्ध विराममा सहयोग पुग्ने अपेक्षा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इजरायली प्रधानमन्त्री नेतन्याहूले सिनवर हत्याको विषय र हमासको नियन्त्रणमा रहेका इजरायली बन्धकको रिहाईका लागि सुरक्षा निकाय र मन्त्रीहरुसँग छलफल गर्ने तयारी गरिरहनुभएको छ । सिनवरको हत्यापछि हमासले बन्धक बनाएका १०१ जनाको परिवारले इजरायली प्रधानमन्त्रीलाई नयाँ तवरबाट बन्धक रिहाईका लागि पहल गरी चाँडै फिर्ता ल्याउन दबाब दिइरहेका छन् ।

यता, इजरायली सेना र हिजबुल्लाहबीच भिडन्त जारी छ। इजरायली सेनाले लेबनानको सीमावर्ती क्षेत्रका करिब २३ गाउँका बासिन्दालाई उत्तरतर्फ जान नयाँ आदेश जारी गरेको छ । त्यस्तै आइडीएफले गाउँ छाडेर गएकाहरुलाई ज्यानको जोखिम कायमै रहेको भन्दै दक्षिणतर्फ नआउन चेतावनी दिएको छ ।

यसैबीच हिजबुल्लाहले इजरायललक्षित आक्रमणलाई तिव्रता दिने जनाएको छ । हिजबुल्लाहले आज इजरायलतर्फ १५ वटा रकेट प्रहार गरेको छ । त्यसमध्ये केहीलाई इजरायलले ध्वस्त पारेको छ भने केही इजरायली भूमिमा खसेको बताइएको छ ।

त्यस्तै लेबनान सीमा पार गरेर इजरायल प्रवेश गर्ने तीन जनामध्ये दुई जनालाई इजरायली सेनाले मारेको छ । एक जनाको खोजी जारी राखेको छ । त्यस्तै गाजाको जाबालियास्थित एक विद्यालयमा शरण लिएर बसेका शरणार्थीमाथि इजरायली सेनाले हवाई आक्रमण गर्दा २८ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.