जग्गाको कित्ताकाट खुले पनि घरजग्गा कारोबारमा सुधार आएन

कार्तिक २, २०८१ |कान्तिपुर टीभी संवाददाता
जग्गाको कित्ताकाट खुले पनि घरजग्गा कारोबारमा सुधार आएन

काठमाडौं । जग्गाको कित्ताकाट खुले पनि आर्थिक शिथिलताका कारण घरजग्गा कारोबारमा सुधार आउन सकेको छैन । ब्याजदर सस्तिँदा र कित्ताकाट खुला हुँदा पनि घरजग्गा कारोबार झनै घटेको छ । गत वर्षको तुलनामा कारोबार घट्नुले घरजग्गा कारोबारमा थप शिथिलता आएको देखिएको छ ।

घरजग्गा कारोबार चलायमान बनाउने भन्दै गत भदौमा सरकारले जग्गाको वर्गीकरण बिनै पनि एक वर्षका लागि कित्ताकाट खुलाएको थियो । त्यसपछि जग्गाको कारोबार बढ्ने अपेक्षा थियो । तर लगानीकर्ता आकर्षित भएनन् । सहरी क्षेत्रका महंगाभन्दा नगरोन्मुख कम मूल्यका जग्गाको मात्रै कारोबार भएको देखिन्छ ।

त्यो पनि गत वर्षभन्दा कम हुँदा सरकारलाई प्राप्त हुने राजस्वसमेत घटेको छ । गत वर्षको असोजमा ४ अर्ब ८ करोड राजस्व प्राप्त भएकोमा यो वर्षको सोही अवधिमा ३ अर्ब ८ करोड मात्रै प्राप्त भएको छ । घरजग्गा कारोबार चलायमान गराउन राष्ट्र बैंकको मौद्रिक नीति बाधक भएको व्यवसायी बताउँछन् ।

गत वर्ष असोजमा ३९ हजार ८ सय ८१ वटा जग्गा किनबेच भएका थिए । तर यो वर्षको सोही अवधिमा झनै घटेर ३० हजार ५ सय कारोबारमा सीमित भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.