विवादमा रुमल्लिएको जितपुर सिमरा उपमहानगर, प्रमुख प्रशासकीय अधिकृत नै तीन जना

कार्तिक १, २०८१ |उपेन्द्र ठाकुर
विवादमा रुमल्लिएको जितपुर सिमरा उपमहानगर, प्रमुख प्रशासकीय अधिकृत नै तीन जना

बारा । दशौं नगरसभाको विषयमा बढेको विवादले बाराको जीतपुर सिमरा उप-महानगरपालिकाबाट हुने सेवा प्रवाह प्रभावित भएको छ । आपसी समझदारीमा समाधान हुनुपर्ने विवादले अदालतमा प्रवेश पाउँदा पक्ष र विपक्षको लडाइँमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय समेतको हस्तक्षेप गर्दै एउटै पालिकाभित्र तीन जना प्रमुख प्रशासकीयलाई कामकाजमा पठाइएको छ ।

दशौं नगरसभाको विषयलाई लिएर असारको दोश्रो साता चुलिएको बाराको जीतपुर सिमरा उपमहानगरकाको विवाद अझै समाधान हुन सकेको छैन । नगर प्रमुख र उप-प्रमुखसँगै कार्यपालिकाका सदस्यहरुबीच चुलिएको पक्ष र विपक्षको विवाद अदालतमा प्रवेश भएसँगै विवाद थप चर्किएको हो । असारदेखि चुलिएको विवाद अझै समाधान हुन नसक्दा त्यसको असर यहाँका सर्वधारणदेखि यहाँका उद्योग, व्यवसाय र विकासमा समेत परेको छ ।

विवादकाबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत साउन ३ गते प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई अतिरिक्त समूहमा पदस्थापन गरी उहाँको ठाउँमा चेतकुमार पोखरेललाई सरुवा गरेर विवादलाई झन् बल्झाउने काम गर्‍यो । 

२०८१ साल वैशाख २० गते जितपुर सिमरामा सरुवा भई आउनुभएकी प्रमुख प्रशासकीय अधिकृत काफ्लेले तीन महिनाभित्रै गैरकानुनी रुपमा आफूलाई अतिरिक्त समूहमा पदस्थापन गरेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय विरुद्ध सर्वोच्चमा रिट दर्ता गराउनुभयो । गत साउन ४ गते सर्वोच्चमा दर्ता भएको रिट उपर सुनुवाई गर्दै अदालतले साउन ९ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्‍यो । अदालतको फैसला नआएकाले उहाँ पालिकामा नै कार्यरत हुनुहुन्छ ।

उता, प्रमुख प्रशासकीय अधिकृत काफ्लेले दिएको रिटलाई आफ्नो प्रतिष्ठाको विषय बनाएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले यूएसएडको निमन्त्रणामा अमेरिका जाने निम्तो पाएकी प्रमुख प्रशासकीय अधिकृत काफ्लेको भ्रमण नै रद्द गराउनुभयो । त्यत्तिले मात्र नपुगेपछि मन्त्री परिषद्‍लाई समेत प्रभावमा पार्दै गत भदौ २७ गतेको मन्त्रिपरिषदको निर्णयबाट सहसचिव वीरेन्द्रदेव भारतीलाई जितपुर सिमराको अर्को प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा गरी पठाउनुभयो । योसँगै जितपुर सिमराले एकै समयमा तीन जना प्रमुख प्रशासकीय अधिकृत पाएको छ ।

जितपुर सिमरा उपमहानगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत काफ्ले र उहाँको ठाउँमा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेल बीचको मुद्दाको टुंगो लागेको छैन । उता, मन्त्री गुप्ताले अदालतको मानहानी हुनेगरी सहसचिव वीरेन्द्रदेव भारतीलाई तेस्रो प्रमुख प्रशासकीय अधिकृतका रुपमा गरेको सरुवाविरुद्ध उर्मिला काफ्लेले आसोज ४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाई सर्वोच्च आदालतको मानहानी मुद्दा दर्ता गराउनुभएको छ ।

गएको असार १० गते तेश्रो पटकका लागि बोलाएको नगरसभालाई लिएर अल्पमतमा रहेका नेकपा माओवादी केन्द्रका नगरप्रमुख राजन पौडेल र बहुमतमा रहेका एमालेका उपप्रमुख भोलाप्रसाद अधिकारी पक्षबीच विवाद चुलिएको हो ।


Image

उपेन्द्र ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका पर्सा संवाददाता हुन् ।