अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न सरकारसँग कांग्रेसको माग

आश्विन १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न सरकारसँग कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले बाढी पहिरोमा परेका नागरिकको खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न सरकारसँग माग गरेको छ ।

मंगलबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनुभयो । उहाँले नेपाली काँग्रेस संसदीय दलको बैठकले गत अविरल वर्षाको कारण गएको बाढी, पहिरोमा परेर ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गरेको बताउनु भयो ।

उहाँले बाढी पहिरोमा बेपत्ता भएकाको उद्धार खोजि गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको बताउनु भयो । उहाँले अहिले पनि मानिसहरु उद्धारको प्रतिक्षा गरिरहेको भन्दै तत्काल उद्धार गर्न सरकारसँग माग गरेको बताउनु भयो ।

प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्राकृतिक प्रकोपको कारणबाट विपी राजमार्ग,सडक, पुलहरु भत्किएको भन्दै खोजि, उद्धार र राहतपछि सरकारले सडक यातायात सुचारु गर्ने काममा तदारुकता देखाउन माग गरेको बताउनु भयो ।

उहाँले दशैँ-तिहार जस्ता चाडपर्वहरु नजिक आएकाले आम नागरिकलाई यात्रा सहजताको लागि तत्काल सडक मार्ग खुलाउन आग्रह गरिएको बताउनु भयो । उहाँले बाढी पहिरोले क्षति भएका विभिन्न भौतिक संरचनाहरु खानेपानी,विद्यालय,विद्युत लगायत संरचना तत्काल निर्माण गरी सेवा सुचारु गर्न पनि माग गरिएको बताउनु भयो ।

उहाँले विपद्मा कालोबजारी,मूल्यवृद्धि हुने सम्भावना रहेको भन्दै अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गर्नुभयो । उहाँले हवाई र सवारी साधनको भाडादरलाई सरकारले नियन्त्रण गरी साविककै भाडादरलाई कायम गरी यात्रा गर्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरिएको बताउनु भयो ।

उहाँले विपद् व्यवस्थापनको लागि नेपाली कांग्रेसका सांसदहरुबाट १५ दिनको पारिश्रमिक नेपाल सरकारलाई विपद् व्यवस्थापनको लागि प्रदान गर्ने निर्णय संसदीय दलले पास गरेको बताउनु भयो । कांग्रेसले बाढी पहिरो,डुबान तथा नदी कटानको कारण खेती बालीमा भएको नोक्शानीमा सरकारले किसानलाई राहतको व्यवस्था गर्न समेत माग गरेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.