कांग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ : डा. कोइराला

आश्विन ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
 कांग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ : डा. कोइराला

काभ्रे । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

नेता कोइरालाले कांग्रेसका युवाहरु अघि बढेकाले उनीहरुलाई नेतृत्वमा ल्याउनका लागि पार्टीले प्रोत्साहित गर्नुपर्ने बताउनु भयो । शनिबार धुलिखेलमा बीपी कोइरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै नेता कोइरालाले युवाहरुको मागलाई पार्टीले सम्बोधन नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।

शेरबहादुर देउवा सदावहार पार्टी सभापति नहुने भएकाले पनि त्यसमा युवाहरुलाई ल्याउनुपर्ने उहाँको भनाइ थियो । बीपी कोइरालाले पदबाट राजीनामा दिएर कृष्णप्रसाद भट्टराई पार्टी सभापतिको पदको जिम्मेवारी दिएको उल्लेख गर्दै त्यसबाट सिकेर अहिलेको नेतृत्वले पनि नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्दै अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले कांग्रेसले आफ्नै खुट्टामा उभिएर अघि बढ्नुपर्ने पनि बताउनु भयो ।

'हामीले कहिल्यै पनि युवाहरुलाई सम्बोधन गर्न सकेनौं,' नेता कोइरालाले भन्नुभयो, 'सँधै मन्त्री बुढैहरु बन्छन् । युवाहरुले कहिल्यै चान्स नै पाउँदैनन् । मन्त्री मात्रै होइन, कुनै पनि ठाउँमा युवाहरुलाई प्रोत्साहन किन गर्दैनौं हामी ? भोलिको राजनीति त उनीहरुको हातमा दिनुपर्ने हो । शेरबहादुरजी सदाबहार यहाँ पार्टी सभापति हुनुहुन्न । अब युवाहरु आउँछन, उनीहरुलाई ठाउँ दिनुपर्‍यो । उनीहरुलाई अगाडि बढाउनु पर्‍यो ।'

नेता कोइरालाले कांग्रेसले बलियो भएर पनि बुहमत ल्याउन नसकेको अवस्थाको अन्त्य हुनेगरी काम गर्नुपर्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement