कांग्रेस–एमाले गठबन्धनबाट जनता खुसी छन् : सभापति देउवा

आश्विन ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
 कांग्रेस–एमाले गठबन्धनबाट जनता खुसी छन् : सभापति देउवा

काभ्रे । सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताउनुभएको छ ।

सभापति देउवाले सत्ताका लागि कचकच भइरहेका बेला दुई ठूला पार्टीबीचको गठबन्धनले जनतामा आनन्द र खुसी छाएको सभापति देउवाको दाबी थियो । शनिबार काभ्रेको धुलिखेलमा बीपी कोइरालाको शालिक अनावरण गर्दै उहाँले सत्ता सहकार्य गरेर दलहरुले जनताको पक्षमा काम गर्नुपर्ने बताउनु भयो ।

सभापति देउवाले पार्टीलाई आगामी निर्वाचनमा कम्तिमा पहिलो पार्टी बनाउने गरी मेहनत गरेर जनताको पक्षमा खटिएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । कांग्रेसले बढी गफ गर्छ, काम गर्दैन भन्ने गुनासो आइरहेको भन्दै सभापति देउवाले दुःखमा परेका जनताको पक्षमा काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो, 'एमाले र कांग्रेस दुई वटा पार्टी मुख्य प्रतिस्पर्धी पार्टी हो । दुई वटै पार्टी मिल्दाखेरी के हुन्छ भन्ने चिन्ता पनि छ मानिसहरुलाई । तर प्रतिष्पर्धी पार्टी मिल्दाखेरी देशभरीमा नै मैले थाहा पाए अनुसार त नेपाली जनताहरु खुसी भएका छन् । कति कचकच गर्ने, दुई वटा पार्टी मिलेका छन् आनन्द भएको छ भन्नेहरु छन् यहाँ । त्यसकारण दुई वटा पार्टी मिलेर देशभरमा एउटा सकारात्मक सन्देश दिएको छ ।'

सभापति देउवाले संविधानमा समावेशी समानुपातिक सिष्टमका कारण कुनै एउटा पार्टीले बहुमत ल्याउने नसक्ने कठिन अवस्थामा पनि पार्टीलाई बहुमतमा पुर्‍याउने गरी कांग्रेसले मेहनतका साथ काम गर्नुपर्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement