पार्टी र देशको नेतृत्व ७० कटेका 'जेष्ठ नागरिक' नेताकै हातमा, होला त पुस्तान्तरण ?

आश्विन २, २०८१ |अञ्जना लामिछाने
पार्टी र देशको नेतृत्व ७० कटेका 'जेष्ठ नागरिक' नेताकै हातमा, होला त पुस्तान्तरण ?

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीचको राजनीतिक समीकरणमा कुनै भवितव्य नआए २०८४ को संघीय संसदको निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा हुनेछ । तर, उमेरले ८ दशक आसपास रहनुभएका देउवाले हालैको एक सार्वजनिक कार्यक्रममा भने नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने संकेत गर्नुभएको छ । ७ पटक प्रधानमन्त्री हुन्छु भनेर बेलाबखत भनिरहनु हुने देउवाले अहिले आएर आफ्नो उमेरको ख्याल गरेजस्तो देखिन्छ । यस्ता अरु को-को नेता छन्, जसले अब उमेरको ख्याल गर्दै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर विश्राम लिनुपर्ने बेला भएको छ ?

२०७२ असोज ३ गते संविधान जारी भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल पटक–पटक प्रधानमन्त्री भएका छन् । झण्डै १० वर्षको यो अवधिमा सत्ताको बागडोर ७० वर्षभन्दा माथिका ‘ज्येष्ठ नागरिक’ नेताहरुकै हातमा छ । नेताहरुले नै पटक-पटक सार्वजनिक भाषणमा पुस्तान्तरणको कुरा गरे पनि २०६२/६३ सालको आन्दोलनपछि राजनीतिक पुस्तान्तरण विरलै भएको छ । तर, गत बिहिबार ७८औं जन्मदिन मनाउनुभएका देउवाले त्यही दिन पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा देशको चिन्ता अब नयाँ नेताहरुले लिनुपर्ने धारणा राख्दै राजनीतिसहित सबै कुराबाट बिदा लिने संकेत गर्नुभयो । उमेरकै कारण नेतृत्व गर्न नसक्ने अवस्थामा पुग्न लागेको महसुस देउवाले गरेको भाव उहाँको अभिव्यक्तिमा थियो ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पनि ७३ वर्ष पुगिसक्नु भएको छ । तर, एमालेमा नेतृत्व हस्तान्तरणको बहस त परको कुरा, ओलीले उल्टै आउने २० वर्षसम्म कसैले आश नगरे हुन्छ भन्ने भावको अभिव्यक्ति दिने गर्नुभएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ७२ वर्ष, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ८३ वर्ष र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर ८२ वर्ष पुगिसक्नु भएको छ । तर, उहाँहरु कसैले पनि नेतृत्व हस्तान्तरण गर्न रुचाएको पाइँदैन । यीबाहेक उमेरले ७० काटिसकेका दोस्रो पुस्ताका नेताहरु पनि न युवापुस्तालाई ठाउँ छाड्छन्, न पुस्तान्तरणको आवाज उठाउँछन् ।

हुन त अमेरिका, भारत, चीन, रुसगायतका शक्तिशाली मुलुक पनि ७० नाघेका नेताहरुले हाँकिरहेका छन् । तर, पुस्तान्तरणको आवाजलाई उनीहरुले स्वीकारिरहेका हुन्छन् । जस्तो कि, अमेरिकी राष्ट्रपति ८२ वर्षका जो बाइडन पुस्तान्तरणको आवाजकै कारण अमेरिकी राष्ट्रपति चुनावको मैदानबाट पछि हटे र कमला ह्यारिसलाई अघि सारे । ह्यारिसले पनि आफूलाई अब्बल साबित गर्ने प्रयत्न गरेको देखिन्छ । यस्ता उदाहरण नेपाली राजनीतिमा पनि देख्न पाइएला त ?


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement