काठमाडौं । सरकारले विश्व क्यान्सर दिवसको अवसर पारेर १० देखि १४ वर्ष उमेरका १६ लाख ८८ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप दिने भएको छ । विश्वका गरिब राष्ट्रहरूमा खोपको पहुँच विस्तार गर्न स्थापित संस्था ग्लोबल अलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेशन (गाभी)को अनुदानमा आउने १७ लाख २० हजार भाइलमध्ये १५ लाख १५ हजार ४ सय भाइल नेपाल आइसकेको छ ।
खोप चीनको इनोभ्यक्स बायोटेलले उत्पादन गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ । माघ २२ गते विश्व क्यान्सर दिवसको अवसर पारेर १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई एचपीभी खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप अभियान दुई सातासम्म चल्ने छ । देशभरका १९ हजार विद्यालयहरूलाई खोप केन्द्रका रूपमा तोकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
परीक्षण गराएमा कम्तीमा १० वर्षअघि नै पत्ता लगाएर रोकथाम गर्न सकिने पाठेघरको मुखको क्यान्सरबाट नेपालमा दैनिक ४ जनाको मृत्यु हुने गरेको सरकारको तथ्यांक छ । यसअघि पनि सरकारले २० हजार भाइल खरिद गरेर करिब १० हजार किशोरीलाई खोप लगाएको थियो ।