काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योललाई गिरफ्तार गर्न गएको भ्रष्टाचार विरोधी अनुसन्धान निकाय ‘सीआईओ’का अनुसन्धानकर्ताहरूको टोली राष्ट्रपति निवासको कम्पाउन्डभित्र प्रवेश गरेको छ । उच्चपदस्थ अधिकारीले गरेका भ्रष्टाचारको अनुसन्धान गर्ने निकाय सीआईओका अधिकारीहरू प्रहरी र अभियोजकको टोली सहित राष्ट्रपति निवासमा प्रवेश गरेका हुन् ।
टोलीलाई राष्ट्रपति निवासभित्र रहेको सेनाको टुकडीले रोकेको स्थानीय समाचारमाध्यमले जनाएका छन् । स्थानीय समयअनुसार बिहान ८ बजेतिर करिब ८० जनाको टोली सहित सीआईओका अधिकारीहरू राष्ट्रपति निवासभित्र प्रवेश गरेको जनाइएको छ । देशमा ‘मार्शल ल’ अर्थात् सैन्य कानून घोषणा गरेको विषयमा सोधपुछ गर्नका लागि गत मंगलबार अदातले यून विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
यता यूनको गिरफ्तारी प्रयासको विरोधका लागि यून समर्थक सयौं प्रदर्शनकारीहरू राष्ट्रपति निवास नजिकै भेला भएको रोयटर्सले जनाएको छ । यूनका वकिलहरूले पक्राउ पुर्जी विरुद्ध उच्च अदालतमा निषेधाज्ञाका लागि आवेदन दिइसकेको छन् । यो पक्राउ पुर्जी जनवरी ६ अर्थात आगामी सोमबार सम्मका लागि मात्रै मान्य छ भने पक्राउ गरेपछि अनुसन्धानकर्ताहरूले उहाँलाई ४८ घण्टा मात्रै आफ्नो नियन्त्रणमा राख्न पाउने छन् । अनुसन्धानकर्ताहरूले त्यसपछि पनि उहाँलाई हिरासतमा राख्न चाहे अदालतको अनुमति लिनुपर्ने छ अन्यथा मुक्त गर्नुपर्ने छ ।
यूनले डिसेम्बर ३ को मध्यरातमा घोषणा गरेको मार्शल ल ६ घण्टा मात्र टिकेको थियो । मार्शल ल घोषणा गरेको केही समयमै बसेको संसद्को आपत्कालीन बैठकले उक्त घोषणा अमान्य रहेको निर्णय गरेपछि यून उक्त घोषणा फिर्ता लिन बाध्य हुनुभएको थियो । पछि डिसेम्बर १४ मा संसद्ले महाभियोग प्रस्ताव पारित गरेपछि यून निलम्बनमा पर्नुभएको थियो ।
उक्त महाभियोग संवैधानिक अदातलमा विचाराधीन छ भने देशद्रोह र शक्तिको दुरुपयोग गरेको फौजदारी अभियोगमा समेत यून विरुद्ध अनुसन्धान भइरहेको छ ।
उता यून विरुद्धको महाभियोगमाथि संवैधानिक अदालतले आजै दोस्रो प्रारम्भिक सुनुवाइ गर्दै छ । संवैधानिक अदालतले यून विरुद्धको महाभियोग सदर गरेको अवस्थामा मात्रै यून पदमुक्त हुनु हुनेछ अन्यथा उहाँको पद जोगिने छ ।