भ्रष्टाचारका कुन–कुन फाइल खोल्ने हो छलफल गरौं : कांग्रेस महामन्त्री थापा

पुस १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
भ्रष्टाचारका कुन–कुन फाइल खोल्ने हो छलफल गरौं : कांग्रेस महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको उपस्थितिमा भ्रष्टाचारका खोल्न बाँकी फाइलहरूबारे छलफल गर्न प्रस्ताव गर्नुभएको छ । बिहीबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले भ्रष्टाचारको विषय एक अर्कालाई खुइल्याउने हतियारको रूपमा प्रयोग हुन थालेको भन्दै यस्तो प्रस्ताव गर्नुभएको हो ।

उहाँले समितिको बैठकमा प्रधानमन्त्री एवं पूर्वप्रधानमन्त्रीलाई आमन्त्रण गरी भ्रष्टाचारका कुन–कुन काण्डको फाइल खोल्ने भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले फाइल खोल्ने विषय सरकारमा बसेर धम्क्याउने र सरकारबाट बाहिर गएको मान्छेले फाइल खोल्न लागेकै कारण सरकार ढल्यो भन्ने अस्त्रको रूपमा प्रयोग गर्ने गरेको बताउनुभयो । उहाँले फाइल खोल्ने विषयमा नागरिक आजित भएको उल्लेख गर्दै शीर्ष नेतृत्वबाट यस विषयमा छलफल गर्न जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँ पूर्वप्रधानमन्त्रीज्यू हुनुहुन्छ, सम्माननीय प्रधानमन्त्रीज्यू पनि आइरहनुभएको छ । बरु एउटा बैठक चाहिँ आमन्त्रित गरेर भए पनि अर्को पूर्वप्रधानमन्त्रीलाई पनि बोलाऊँ र यही समितिको बैठकमा बसेर एकपटक छलफल गरौं । भ्रष्टाचारका कुन–कुन काण्डको फाइल खोल्ने हो ।”

उहाँले शेरा दरबार, ललिता निवास, गिरीबन्धु लगायतका सबै भ्रष्टाचार सम्बन्धी फाइलहरू खोल्नुपर्ने धारणा राख्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement