केबल दुई दलको मनोमानी र सिन्डिकेट होइन, सबैसँग सहकार्य गरेर अघि बढ्न चाहान्छौँ : पर्यटनमन्त्री पाण्डे

आश्विन १, २०८१ |कान्तिपुर टीभी संवाददाता
केबल दुई दलको मनोमानी र सिन्डिकेट होइन, सबैसँग सहकार्य गरेर अघि बढ्न चाहान्छौँ : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डे सबै राजनीतिक दलहरुलाई सरकारसँग सहकार्य गरेर अघि बढ्न आग्रह गर्नुभएको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहनुभएका मन्त्री पाण्डेले मुलुकमा विद्यमान सबै खालको जटिलता हटाउनका लागि दुई ठूलो पार्टीले सत्ता सहकार्य गरेकाले त्यसमा अन्य सबै राजनीतिक दलहरुले सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनु भयो । नेपाल पर्वतारोहण संघले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मुलुकलाई जटिलताबाट पार लगाउन सबै राजनीतिक दलहरुले मिलेर काम गर्नुपर्ने बताउनु भयो ।

मन्त्री पाण्डेले देशमा समस्याको चाङ देखिएकोपछि समाधानका लागि कांग्रेस-एमाले एक ठाउँमा उभिएको उल्लेख गर्दै मन्त्री पाण्डेले अन्य दलहरुले पनि यस्तो बेलामा सरकारसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनु भयो । ‘हामीले देशको जुन अप्ठेरो देख्यौं । देशको जुन खालको जटिलता देख्यौं । देशमा आएका समस्याहरुको उचाई देख्यौं । समस्याहरुको आकार देख्यौं । हामी एक ठाउँमा उभिन तयार भयौँ । एक ठाउँमा उभिएर हामी समाधान दिन चाहन्छौं । हामी सबै प्रकारको समाधान दिन चाहन्छौं,’ उहाँले भन्नुभयो, ‘केबल दुई पार्टीको मनोमानी र सिन्डीकेट कायम गर्ने होइन । यसमा माओवादी जोडन चाहन्छौं, समाजवादी जोड्न चाहन्छौं । लोसपा, जसपा, राप्रपा, रास्वपा सबैलाई जोडेर काम गर्न चाहन्छौं ।’

उहाँले सरकारले एकताको बाटोबाट मुलुकमा विद्यमान समस्या समाधान गर्न चाहेको पनि बताउनु भयो । सबै दलहरुले एकताको बाटोबाट नेपाललाई एउटा स्थिर शासन पनि दिने, गतिशील अर्थतन्त्र प्रदान गर्ने दिशामा चाहेको मन्त्री पाण्डेको भनाइ छ । मन्त्री पाण्डेले मुलुकको अर्थतन्त्रलाई अघि बढाउने महत्त्वपूर्ण क्षेत्र पर्यटन क्षेत्र भएकाले त्यसको संवर्द्धनमा सरकार सदैव प्रतिबद्ध रहेको पनि बताउनु भयो । त्यस अवसरमा उहाँले मर्यादामा रहेर काम गर्न पर्यटन व्यवसायीहरुलाई सचेत पनि गराउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement