किसान र मन्त्रालयबीचको दूरी नजिक बनाउनुपर्ने आवश्यकता छ : कृषिमन्त्री अधिकारी

आश्विन १, २०८१ |कान्तिपुर टीभी संवाददाता
किसान र मन्त्रालयबीचको दूरी नजिक बनाउनुपर्ने आवश्यकता छ : कृषिमन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले किसान र कृषि मन्त्रालयबीचको दूरी कम गर्नेगरी काम गरिरहेको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा बल्खु कृषि तथा तरकारी बजारको १३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो । कृषिमन्त्री अधिकारीले कृषि क्षेत्र र किसानका बीचमा धेरै समस्या रहेको भएपनि किसान र मन्त्रालयबीच समन्वय नहुँदा समस्या समाधान हुन नसकेको बताउनु भयो ।

उहाँले किसान र मन्त्रालयबीच समन्वय र सम्पर्क नजिक बनाउने गरी मन्त्रालयले काम गरिरहेको बताउनु भयो । उहाँले किसानका समस्या सिधै मन्त्रालयसँग जोडिनु पर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

उहाँले कृषिमा धेरै किसिमका समस्याहरु रहेको तर किसान र मन्त्रालय तथा कृषि मन्त्रालय अन्तरर्गतका निकायहरुबीच भेटघाट हुने नगरेको स्वीकार गर्नुभयो । उहाँले देशभरका किसानको लागि कृषि मन्त्रालय रहेको भन्दै सरकार सच्चा किसानको बीचमा पुग्न सक्नुपर्ने बताउनु भयो ।

उहाँले मुलुकमा जीविकोपार्जन, विहान बेलुका दुई छाक टार्ने र ठूलो परिणाम व्यवसायिक उत्पादन गर्ने किसान गरी तीन प्रकारका किसानहरु रहेको बताउनु भयो । उहाँले किसान र मन्त्रालयबीचको दूरी नजिक बनाउनुपर्ने आवश्यकता देखिएको बताउनु भयो ।

उहाँले सरकारले उत्पादनमा जोड दिन नसके र समयमा मल बीउको व्यवस्थापन गर्न नसके भने आयातमा निर्भर बन्नुपर्ने अवस्था आउने बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement