उपसभामुख इन्दिरा रानामगर पदमा बस्न अयोग्य भएको एमालेको ठहर

भाद्र २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
उपसभामुख इन्दिरा रानामगर पदमा बस्न अयोग्य भएको एमालेको ठहर

काठमाडौं । नेकपा एमालेले उपसभामुख इन्दिरा रानामगर पदमा बस्न अयोग्य भएको ठहर गरेको छ ।

एमाले सचिवालयको आज बसेको बैठकले उपसभामुख रानाले आफूमाथि लागेको आरोप स्पष्ट पार्नुपर्ने भन्दै अन्यथा पदमा बस्न अयोग्य भएको निष्कर्ष निकालेको हो ।

बैठकले एमालेलाई निर्णायक शक्ति बनाउने गरी १८ वटा विषय समेटिएको वार्षिक कार्य योजना पनि पारित गरेको छ । सदस्यता नवीकरण, विस्तार र अभिलेखीकरणको कामलाई एमालेले कार्य योजनाको पहिलो विषय बनाएको छ । यसैगरी अधिवेशन गर्न बाँकी रहेका जिल्लामा कात्तिक महिनाभित्र सम्पन्न गर्ने र सबै तहका अधिवेशन मंसिर मसान्तभित्र सम्पन्न गर्ने योजना छ ।

पार्टी प्रवेश गरेका र अधिवेशनहरूबाट बिदा भएका नेता कार्यकर्तालाई तीन महिनाभित्र पार्टीका तर्फबाट यथोचित जिम्मेवारी दिन गृहकार्य गर्ने, पार्टी कमिटी र कार्यकर्ताको कामको मूल्याङ्कन विधि निर्माण गर्ने र कमिटीभित्रको अन्तर्विरोध व्यवस्थापनलाई आधार बनाएर कार्य योजना बनाएको हो । जनप्रतिनिधिका कामलाई प्रभावकारी बनाउने विषय पनि कार्य योजनामा समेटिएको छ ।

एमालेले मिसन ८४ को लक्ष्य पूरा गर्न जनसङ्गठन परिचालन, प्रवासीहरूलाई देश हितका पक्षमा प्रयोग गर्ने, भवन निर्माण कार्य योजना, नियमित रिपोर्टिङ प्रणाली अघि सार्ने सोच अघि सारेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.