जनकपुर । सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि र चोरी तस्करी नियन्त्रणका लागि परिचालन गरिएका सुरक्षाकर्मी र भन्सार कर्मचारीको मिलेमतोमै तस्करी फस्टाएको आरोप लागि रहन्छ । नियम र आचरण विपरीत तस्कर सँग मिलेर प्रहरीका एक उच्च अधिकारीले नै यस्तो काम गरिरहेको भनी लागेको आरोप अहिले निकै चर्चामा छ । तस्कर सँग साँठगाँठ रहेको भन्दै प्रहरी प्रधान कार्यालयले मधेश प्रदेशका डीआईजीलाई शंकाको घेरामा राखेको छ भने रकम उठाउने कार्यमा संलग्न १० जना सादा पोसाकका घुमुवा प्रहरीलाई झिकाएर छान बिन गरिरहेको छ ।
गएको बुधबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नव निर्मित भवन उद्घाटन गर्दै प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले दिनुभएको यो अभिव्यक्तिले प्रहरी संगठन भित्र अहिले तरंग ल्याएको छ । आन्तरिक शुद्धीकरण अभियान अन्तर्गत सबै प्रहरी अधिकारीको बैंक खाता जाँच भइरहेको र एक डीआईजी छिट्टै फस्न लागेको भनी महानिरीक्षक कुँवरले गरेको खुलासा चर्चामा छ ।
आईजीपी कुँवरको यो संकेत अन्यत्र नभई भन्सार छली र चोरी तस्करीका लागि निकै बदनाम मधेस प्रदेशका प्रहरी प्रमुख यज्ञविनोद पोखरेल तर्फ छ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा लामो समयदेखि बसी बिचौलियाको काम गर्दै आएका सिरहाका जितेन्द्र कर्णको खाताबाट डीआईजी पोखरेलको खातामा अस्वाभाविक कारोबार समेत भेटिएको छ ।
१ महिना भन्दा पनि थोरै समय बाँकी रहेका डीआईजी पोखरेल सँग निकट रहेका कर्ण सँग सोधपुछ पछि तस्करहरू सँग रकम असुलीका लागि मधेशका विभिन्न स्थानमा परिचालन गरिएका १० जना घुमुवा प्रहरीलाई प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गतको सुपरिवेक्षण तथा अनुगमन महाशाखाले झिकाएर सोधपुछ थालेको छ ।
२०८० पुस २७ मा मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेदेखि नै कमान्ड कमजोर भएको आरोप खेप्दै आएका पोखरेलले क्यामरामा बोल्न नमाने पनि आफूलाई बदनाम गराउने खेल भइरहेको प्रतिक्रिया दिनुभएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले सार्वजनिक कार्यक्रममै दिनुभएको यो अभिव्यक्तिले पनि मधेश प्रदेशमा प्रहरीकै संलग्तामा चोरी निकासी-पैठारी बढेको आरोपलाई पुष्टि गर्छ ।
सर्वसाधारण निमुखाले एक किलो चिनी र दाल ल्याउँदा सिमानामा धेरै नै सास्ती भोग्नु पर्छ । तर, रातारात तस्करहरूले गाडी भित्र्याउँदा केही हुँदैन । यसले करोडौँ राजश्व चट हुँदै आएको छ ।
महानिरीक्षकको सचिवालय मातहको सुपरिवेक्षण तथा अनुगमन महाशाखाले प्रहरी नियमावली र आचरण विपरीत तस्कर सँग मिलेमतो गरी काम गरेको पाएपछि यस अघि सिरहाका तत्कालीन प्रहरी प्रमुख सन्तोष आचार्य लगायत ४० जना भन्दा बढीलाई काठमाडौं झिकाएको छ ।
जस मध्ये ७ जना निलम्बनमा परेका छन् भने अन्य माथि छानबिन भइरहेको छ । छोटी भन्सार कार्यालयहरूमा कर्मचारी अभाव, सुरक्षाकर्मीहरूको असहयोग, तस्करसँग सुरक्षाकर्मी र भन्सार कर्मचारीको मिलेमतोका कारण मधेशमा चोरी पैठारी-निकासी बढ्दो छ ।