नेपाल र अस्ट्रेलियाबीच सम्बन्ध लामो, कूटनीति चाहिँ कमजोर !

भाद्र ९, २०८१ |कञ्चन अर्याल
नेपाल र अस्ट्रेलियाबीच सम्बन्ध लामो, कूटनीति चाहिँ कमजोर !

अस्ट्रेलिया । नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध निकै पुरानो हो । पहिलो विश्वयुद्धमा बेलायतका तर्फबाट युद्ध लडेका नेपालीले गल्लीपोलीको लडाइँमा अस्ट्रेलिया र न्युजिल्याण्डको पक्षबाट मैदानमा होमिएका थिए । हरेक वर्ष २५ अप्रिल मनाइने एनज्याक डेमा अस्ट्रेलियन सरकारले नेपाली सिपाहीको योगदानको स्मरण गर्छ । यति लामो सम्बन्ध हुँदा पनि कमजोर कूटनीतिका कारण अस्ट्रेलियाबाट नेपालले अपेक्षित फाइदा लिन सकेको छैन ।

नेपाल र अस्ट्रेलियाबीच दौत्य सम्बन्ध स्थापित भएको ६४ वर्ष पुग्यो । आवासीय दूतावास स्थापना भएको पनि एक दशकभन्दा धेरै भयो । कूटनीतिमा दुवै देशमा आवासीय राजदूत हुनुले एकअर्कालाई महत्त्व दिएको बुझिन्छ । तर अस्ट्रेलियाबाट नेपालले अपेक्षित फाइदा लिन सकेको छैन । वरिष्ठ अर्थविद् डाक्टर कृष्ण हमाल नेपालको अस्थिर राजनीतिका कारण अस्ट्रेलियाले नेपालको स्थायी मित्र शक्ति कुन हो भन्ने नै पहिचान गर्न नसकेको दाबी गर्नुहुन्छ ।

नेपाल र अस्ट्रेलियाबीच कैयन विषयमा समानता छन् । पर्यटन, प्राकृतिक स्रोत तथा खानीबाट कसरी लाभ लिने भन्ने ज्ञान नेपालले अस्ट्रेलियाबाट लिन सक्छ । त्यसका लागि उच्चस्तरीय भ्रमण तथा ज्ञान र सीप आदानप्रदान गर्नु आवश्यक छ । तर दुई देशबीच यस्ता भ्रमण फाट्टफुट्ट मात्र हुने गरेका छन् । नेपालबाट हुने गरेका मन्त्रिस्तरीय भ्रमण त झन् निजी काममै रुमलिने गरेका छन् । 

अस्ट्रेलिया सरकारका तर्फबाट सन् २०१८ अगस्टपछि अर्थात् ५ वर्षपछि सन् २०२३ को मेमा सहायक परराष्ट्रमन्त्री टिम वाटले नेपालको भ्रमण गर्नुभयो । जबकि भारत र अस्ट्रेलियाबीच प्रधानमन्त्री स्तरीय भ्रमण नै पटकपटक भइरहेका छन् । उनीहरुबीच ठूलो मात्राको ब्यापार सम्झौता पनि भएका छन् । अस्ट्रेलियास्थित नेपाली दूतावास सक्रिय नहुँदा नेपालले धेरै अवसर गुमाएको जानकारहरूको बुझाइ छ ।

नेपालको अस्ट्रेलियासँग व्यापार घाटा बढ्दो छ । व्यापार घाटा कम गर्न भएको सम्झौता पनि कागजमा सीमित छ । सम्झौता कार्यान्वयन गरी अन्य लगानीका सम्भावना खोज्न पनि नेपाली पक्षले चासो दिएको छैन ।

विज्ञताका आधारमाभन्दा पनि दलका कार्यकर्तालाई दूतावासको जिम्मा दिँदा नेपाली कूटनीति कमजोर भएको हो । आगामी दिनमा सरकारले सक्षम व्यक्तिलाई दूतावासको जिम्मेवारी दिँदा अस्ट्रेलियाबाट नेपालले धेरै लाभ लिन सक्ने सम्भावना कायमै छ ।


Image

कञ्चन अर्याल

अर्याल कान्तिपुर टेलिभिजनको अस्ट्रेलिया संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement