‘गृह मन्त्रालयले रवि लामिछानेमाथि सहकारी ठगीमा तत्काल अनुसन्धान गर्नुपर्छ’

श्रावण २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘गृह मन्त्रालयले रवि लामिछानेमाथि सहकारी ठगीमा तत्काल अनुसन्धान गर्नुपर्छ’

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीमा संलग्न रहेको आरोप लगाउँदै तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गर्नुभएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री थापाले करोडौँ सहकारीमा ठगी गरेका तत्कालीन गृहमन्त्री लामिछानेमाथि तत्काल छानबिन गरी कारबाहीको दायरामा ल्याउन गृहमन्त्री रमेश लेखकसँग आग्रह गर्नुभयो । तत्कालीन प्रमुख प्रतिपक्ष दलको सांसदको हैसियतमा लेखकले लामिछानेले पोखराको सूर्यदर्शन सहकारीबाट करोड रुपैयाँ बुझिलिएको प्रमाण पेस गरेको उल्लेख गर्दै थापाले सोही प्रमाणको आधारमा लामिछानेमाथि छानबिन गर्नुपर्ने माग राख्नु भयो ।

जतिसुकै शक्तिशाली भएपनि सरकारले अनुसन्धानको दायरामा ल्याएर ‘आफू को हुँ ?’ भन्ने प्रमाणित गरेर देखाउनुपर्ने पनि बताउनु भयो । महामन्त्री थापाले भन्नुभयो,‘जतिसुकै बलियो होस्, जतिसुकै पहुँचवाला होस् । तर अनुचित लाभ एक रुपैयाँ पनि लिन दिन्नौँ । राज्यको कोषमा एक रुपैयाँ पनि तलमाथि हुन दिन्नौं भन्ने कुराको ग्यारेन्टी गर्नुपर्छ ।’ थापाले अगाडि थप्नुभयो, ‘२०८० साल चैत्र ६ गते पोखरा महानगरपालिकाले सूर्य दर्शन सहकारीको बारेमा एउटा अध्ययन गर्‍यो । त्यो अध्ययनलले नामै किटेर माननीय रवि लामिछानेले एक करोड रकम जम्मा गरेको देखियो । यस्तो रकम थुप्रै जम्मा भएको कारणले गर्दा माघ २२ गते पीडितहरुले पोखरामा गएर जाहेरी दिन गए । प्रहरीले जाहेरी पनि लियो । त्यो बेला पुरानै जाहेर भएको पुरक जाहेरी भनिदियो । पछि गृहमन्त्री भएपछि त यो जाहेरी नै होइन भनिदियो ।’

सांसद थापाले सोही प्रमाणका आधारमा गृह मन्त्रालयले तत्काल अनुसन्धान गर्नु पर्ने माग गर्नु भयो । उहाँले प्रतिपक्षमा रहँदा गिरिबन्धु टी-इस्टेट, भुटानी शरणार्थी प्रकरणमा घोटाला देख्ने तर सत्तामा आएपछि देख्दै नदेख्ने काम सरकारले गर्न नहुने पनि दोहोर्‍याउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement