धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज विश्वासको मत माग्न लाग्नु भएको छ । विश्वासको मत लिने प्रयोजनका लागि आज अपराह्न ४ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।
नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति (रन्जिता श्रेष्ठ समूह ) र स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा वैशाख ५ गते सोडारी मुख्यमन्त्री नियुक्त हुनुभएको हो । असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि सोडारी अल्पमतमा पर्नु भएको हो ।
सोडारीले प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था भने छैन । ५३ सदस्यीय प्रदेशसभामा विश्वासको मत लिनका लागि २७ जनाको समर्थन चाहिन्छ । तर उहाँसँग आफ्नो दल एकीकृत समाजवादीका ४ र माओवादी केन्द्रका १० गरी १४ जना मात्रै छन् । नयाँ गठबन्धनमा रहेका कांग्रेससँग १८ र एमाले सँग ११ गरी २९ जना प्रदेशसभा सदस्य रहेकाले सहजै सरकार बन्ने अवस्था छ ।
एमालेले बजेट पास नगरी समर्थन फिर्ता लिएपछि सोडारी नेतृत्वको सरकारले असार १ गते ल्याएको बजेट पारित भएको छैन । साउन १ गते देखि प्रदेश बजेट होलिडे को अवस्थामा छ । सत्ता र प्रतिपक्षबिचको सत्ता स्वार्थ र इगोले प्रदेश सभाबाट बजेटसम्बन्धी ऐनहरू पारित नहुँदा सरकारले प्रदेश मातहतका कार्यालयमा राजस्व उठ्न सकेको छैन ।
अब नयाँ आउने सरकारले अध्यादेश मार्फत बजेट ल्याए पछि मात्रै प्रदेशमा बजेट शून्यताको अवस्था अन्त्य हुने छ । त्यस पछि मात्रै प्रदेशमा राजस्व उठाउन र खर्च गर्न बाटो खुल्ने छ ।
काङ्ग्रेसभित्र मुख्यमन्त्रीका लागि रस्साकस्सी
केन्द्रीय सहमति अनुसार सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा सरकार गठन हुने छ । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि कांग्रेसका प्रदेशसभा सदस्यहरू बीच दौडधुप चलेको छ । कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री कमलबहादुर शाह, पूर्व मन्त्री प्रकाशबहादुर देउवा र प्रदेश सभा सदस्य बहादुर सिंह थापा मुख्यमन्त्रीको दौडमा हुनुहुन्छ ।
तीनै जनाले काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपनि मुख्यमन्त्रीको टुङ्गो अहिलेसम्म लागेको छैन । स्रोतका अनुसार सभापति देउवाका भतिजा प्रकाशको सम्भावना बढी छ । यद्यपि आज दिउँसो २ बजे बस्ने काङ्ग्रेस संसदीय दलको बैठकले यसको टुङ्गो लगाउने छ । दलहरूले आग्रह गरे नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख वाट आजै आह्वान हुने छ ।