विधिको शासन लोकतन्त्रको आधारभूत तत्त्व हो : गृहमन्त्री लेखक

श्रावण १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
विधिको शासन लोकतन्त्रको आधारभूत तत्त्व हो : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभूत तत्त्वमध्ये विधिको शासन एउटा तत्त्व भएको बताउनुभएको छ ।

सिंहदरबारमा बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘सुशासन प्रवर्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता’ विषय छलफलमा गृहमन्त्री लेखकले विभिन्न प्रकरणमा फाइल खोल्ने विषयमा सांसदहरुले राखेको जिज्ञासापछि लेखकले लोकतन्त्रमा कानुनविना मुद्दा चल्न नसक्ने बताउनुभयो ।

‘फाइल खोल्ने भन्या के हो ? मुद्दा चलाउने भन्या होला नि, लोकतन्त्रमा मुद्दा कानुनबेगर चल्छ ?, रहरमा मुद्दामा चल्दैन, कसैका चाहनाले मुद्दा चल्दैन, कानुनबमोजिम चल्छ भन्ने मेरो आग्रह छ,’ उहाँले भन्नुभयो, ‘कुनै मुद्दा चलेको छ भने छट्न पनि कानुनबमोजिम छुट्छ । भन्ने मेरो आधारभूत मान्यता हो ।’

मेलमिलाप र मिलापत्र गर्न पीडितको सहमति नभए सरकारवादी फौजदारी मुद्दा चल्न सक्छ : गृहमन्त्री रमेश लेखक

सदाचार मानिसले आफ्नो भित्रबाट राम्रो गर्न उत्प्रेरित गर्ने विषय भएको उहाँको भनाइ थियो । ‘यो विषयलाई सरकारले प्राथमिकतामा राखेको प्रद्धिबद्धता व्यक्त गर्दछु,’ उहाँले भन्नुभयो, ‘समितिबाट सरकारलाई आवश्यक सुझाव दिन आग्रह गर्दछु ।’

त्यसैगरी प्रहरी कर्मचारी सरुवाको विषय निरन्तरको प्रक्रिया भएको उहाँले बताउनुभयो । ‘कर्मचारीको सरुवा र बढुवा हुन्छ । कहिले-काहीँ सामान्यत: अवधि तोकेको हुन्छ । तर कहिले-काहीँ अवधिभन्दा पहिले पनि हुन्छ,’ उहाँले भन्नुभयो, ‘जुन पदको सरुवाको कुरो छ उहाँ अत्यन्त योग्य मानिस हो र योग्यतम् ठाउँमा पुग्नुभएको छ । किन भने प्रहरीलाई तालिम दिने भन्या त सबैभन्दा बढी पढेलेखेको चाहियो नि, प्रहरी राम्रो बनाउनुपर्‍यो । अनि राम्रो प्रहरीलाई राम्रो तालिम दिन राम्रो मान्छे पठाउँदा के समस्या भयो ?’ उहाँले यो प्रक्रियालाई सामान्य रुपमा लिन आग्रहसमेत गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.