एमालेले पदाधिकारी तथा केन्द्रीय नेताहरूको जिम्मेवारी फेरबदल गर्दै

श्रावण १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
एमालेले पदाधिकारी तथा केन्द्रीय नेताहरूको जिम्मेवारी फेरबदल गर्दै

काठमाडौं । सत्तारुढ नेकपा एमालेले पदाधिकारी तथा केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गर्ने भएको छ ।

काठमाडौंको हनुमानस्थानस्थित होटेल बसेरामा जारी एमाले सचिवालय बैठकले एक वर्षअघि तोकेको पदाधिकारीदेखि केन्द्रीय सदस्यहरूको कार्य विभाजन फेरबदल गर्न लागेको हो । बैठकले सात प्रदेशका पार्टी इन्चार्ज, अध्यक्ष तथा ७७ जिल्लाका इन्चार्ज तोक्नेछ । 

त्यसैगरी पार्टीका विभागहरू, निर्वाचन क्षेत्रका इन्चार्ज र पालिकाहरूको समेत इन्चार्ज तोक्ने पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । गत वर्षको जेठमा एमालेले सात प्रदेश तथा ७७ जिल्लामा फरक भूगोलका नेताहरूलाई जिम्मेवारी दिएर खटाएको थियो । 

त्यसैगरी बैठकले पार्टीका विभागहरूको समेत जिम्मेवारी तोक्नेछ । सचिवालय बैठकले पार्टीले सरकारको नेतृत्व लिएपछिको राजनीतिक घटनाक्रमको समीक्षालगायत सरकारको कामकारबाहीको समेत समीक्षा गर्ने प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो । 

ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा बाढी पसेर बैठक बस्नै असजिलो भएपछि होटेलमा बैठक राख्नुपरेको एमालेले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.