काठमाडौं । वन कार्यालय कैलालीका कर्मचारीले गोदावरीमा एउटा टेम्पो भीरबाट खसालेको भिडियो सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जाल तथा स्थानीयस्तरमा अहिले व्यापक आलोचना भइरहेको छ ।
कैलालीको गोदावरी नगरपालिका–४, बासपानीकी ४४ वर्षीया धनादेवी धामीको टेम्पो वन कार्यालयका कर्मचारीले शनिबार भीरबाट धकेलेर खसालिदिएका थिए । पीडित धामीका अनुसार, उहाँ सोही क्षेत्रमा सडकछेउमा टेम्पो राखेर सानोतिनो खुद्रा व्यापार गरी आफ्नो परिवारको लालनपालन गर्दै आउनु भएको थियो ।
वन कार्यालयका कर्मचारीहरू अतिक्रमण हटाउने अभियानका क्रममा घटनास्थल पुगेका थिए। घटनाका प्रत्यक्षदर्शीका अनुसार, भीरबाट खसाल्नुअघि वनका कर्मचारीले टेम्पोबाट सामान झारेका थिए । स्थानीयले आफ्नो आँखाअगाडि गरिएको यस कार्यको विरोध गरे पनि कर्मचारीहरूले बेवास्ता गरेका थिए।
अनेकौं पटक हारगुहार गर्दा पनि आफ्नो टेम्पो भीरबाट खसालिदिएको धामीले बताउनुभयो। बरु टेम्पो घर लैजान्छु अबदेखि सामान बेच्न आउँदिन भनेर हारगुहार गर्दा पनि कसैले सुन्न नचाहेको उहाँले बताउनुभयो । ‘वन अतिक्रमण’ हटाउने नाममा अमानवीय व्यवहार गरेको भन्दै व्यापक आलोचना भएपछि डिभिजन वन कार्यालयले स्पष्टीकरण दिएको छ ।
कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी वनका कर्मचारीले जानाजान र नियतवश भीरबाट टेम्पो नखसालेको दाबी गरेको छ । कार्यालयका अनुसार भीरतर्फ धकेलिएको टेम्पो चल्ने अवस्थामा नभएको, चक्का तथा इन्जिन पूर्ण रूपमा बिग्रिएको, वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको टहरोका रूपमा प्रयोग हुँदै आएको संरचना थियो ।
कार्यालयका वरिष्ठ डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले गाईमारे क्षेत्र चुरे संरक्षणका दृष्टिले अत्यन्त संवेदनशील भएकाले त्यहाँ भइरहेको अतिक्रमण नियन्त्रण गर्न नियमित रूपमा अभियान सञ्चालन हुँदै आएको जानकारी दिनुभयो । कार्यालयले पाँच महिनाअघि सो क्षेत्रमा पुनः अवैध संरचना निर्माण गरिएको र एक महिनाअघि ती संरचना हटाउन निर्देशन दिइएको जनाएको छ ।
त्यसक्रममा केही छाप्रा हटाइए पनि घनश्याम धामीले प्रयोग गर्दै आएको टेम्पो भने हटाउन अटेर गरिएको जनाइएको छ । यसअघि पनि वन कर्मचारीले उक्त टेम्पोलाई धकेलेर सम्बन्धित व्यक्तिको घरसम्म पुर्याइ दिएको भए पनि पछि पुनः सोही स्थानमा ल्याई पसल सञ्चालन गरिएको कार्यालयको भनाइ छ ।
यही जेठ २९ गते पुनः अतिक्रमण हटाउने अभियानका क्रममा पनि टेम्पो हटाउन अस्वीकार गरिएको र शनिबार हटाउन प्रयास गर्ने क्रममा दुर्घटनावश भीरबाट खसेको कार्यालयले स्पष्ट पारेको छ ।
