नेतृत्वले ठोस निर्णय नलिँदा अलमलमा एकीकृत समाजवादी

श्रावण १६, २०८१ |अवतार राई
नेतृत्वले ठोस निर्णय नलिँदा अलमलमा एकीकृत समाजवादी

काठमाडौं । नेकपा एमालेसँग विद्रोह गरेर स्थापना भएको एकीकृत समाजवादी अहिले आफ्नै अस्तित्वको लडाइँ लडिरहेको छ । अर्को तर्फ पार्टी भित्रै विभाजनको बहसले यसलाई झन् कमजोर बनाइरहेको छ । 

एमालेसँगको विद्रोहलाई अनुमोदन गर्ने भन्दै नेकपा एकीकृत समाजवादीले महाधिवेशनबाट सर्वसम्मत रूपमा माधवकुमार नेपाललाई अध्यक्ष चयन गरे पनि पदाधिकारी तथा केन्द्रीय समितिलाई पूर्णता दिन सकेको छैन । संसद्‌मा कमजोर उपस्थिति रहेको र संगठनसमेत प्रभावकारी रूपमा विस्तार गर्न नसकेको एकीकृत समाजवादी गुटको चपेटामा पर्दा पदाधिकारी र केन्द्रीय समितिलाई पूर्णता दिन नसकेको हो । 

पार्टीभित्र मौलाएको गुट र बाहिरी राजनीतिक परिस्थितिका कारण सन्तुलन मिलाउन नसके पार्टी नै विभाजन हुनसक्ने भयले नेतृत्वलेसमेत ठोस निर्णय लिन नसक्दा एकीकृत समाजवादी अलमलमा परेको छ । 

नेकपा एकीकृत समाजवादीले गत असार १६ देखि २० गतेसम्म महाधिवेशन गरेकै बेला आफू सहभागी सरकार ढल्ने अवस्थामा पुग्यो । नीतिमा छलफल र नेतृत्व चयनमा सरकार परिवर्तन हुने परिस्थितिको प्रत्यक्ष प्रभाव नै पर्‍यो । महाधिवेशनबाट अध्यक्ष, महासचिव, सम्मानित नेता चयन गर्‍यो । महाधिवेशनको भीडबाटै एक सय जना केन्द्रीय सदस्य चयन भएको घोषणा पनि भयो । 

बाँकी पदाधिकारी र केन्द्रीय सदस्य एक साताभित्रै टुंगो लगाउने भनिए पनि एक महिना बित्न लाग्दासमेत चयन भएको छैन । आकांक्षी व्यवस्थापन गर्न नसक्दा पार्टी विभाजन हुने भयले समाजवादीले समितिहरूलाई पूर्णता दिन नसकेको हो । महाधिवेशनबाटै टुंगो लगाउनुपर्नेमा ढिला गर्दा समस्या थपिएको स्वीकार नेतृत्वले गरेको छ । 

विधानतः एकीकृत समाजवादीले २१ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नुपर्ने हुन्छ । तर १८ सय महाधिवेशन प्रतिनिधिमध्ये अधिकांशले कि पदाधिकारीमा कि त केन्द्रीय सदस्यमा दाबी गरेका छन् । 

एकातिर पदाधिकारी र केन्द्रीय सदस्य बन्ने होडबाजी छ भने अर्कोतर्फ असन्तुष्टि पनि चुलिएको छ । प्रतिनिधिसभाका १० सांसदमध्ये प्रेम आलेले महाधिवेशनमा सहभागीसम्म हुनुभएन । अर्का सांसद कृष्णकुमार श्रेष्ठ पनि नेतृत्वप्रति असन्तुष्ट हुनुहुन्छ । अहिले प्रतिपक्षमा पुगेको एकीकृत समाजवादीमा असन्तुष्टि बढेपछि नेतृत्वलाई पार्टी विभाजनको डर छ । त्यसले पदाधिकारी र केन्द्रीय समितिलाई पूर्णता दिन ढिलाइ गरिएको हुनसक्ने विश्लेषकको बुझाइ छ ।

कुनै बेला सबैभन्दा ठुलो कम्युनिस्ट पार्टी नेकपा एमालेको १५ वर्षसम्म नेतृत्व नै गर्नुभएका एकीकृत समाजवादीका अध्यक्ष नेपाल अहिले सानो पार्टीको नेतृत्व सम्हाल्न नै कठिन हुने अवस्थामा पुग्नुभएको छ । यसले उहाँको राजनीतिक भविष्य नै कता पुग्ने हो अन्योल देखिएको छ । 


Image

अवतार राई

राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement