राजा वीरेन्द्रले नचाहँदा पनि प्रधानसेनापतिलाई बर्खास्त गरें : माधवकुमार नेपाल

श्रावण १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
राजा वीरेन्द्रले नचाहँदा पनि प्रधानसेनापतिलाई बर्खास्त गरें : माधवकुमार नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा वीरेन्द्रले नचाहँदा नचाहँदै पनि आफूले प्रधानसेनापतिलाई बर्खास्त गरेको बताउनुभएको छ ।

काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा उहाँले २०५१ सालमा आफू रक्षामन्त्री हुँदा भ्रष्टाचारको आरोप लागेका प्रधानसेनापतिलाई निष्कासित गरेको दाबी गर्नुभयो । तत्कालीन राजा वीरेन्द्रले माफी दिन भन्दा पनि आफूले नमानेको अध्यक्ष नेपालको भनाइ छ । उहाँले आफू २०५१ सालमा रक्षामन्त्री बन्दा ‘कडा’ रुपमा प्रस्तुत भएको पनि जनाउनुभयो ।

‘म लेबनान गएको थिएँ । म त्यहाँ गएका बेला लेबनानमा रहेका नेपाली सेनाका हाकिमहरुले थाहा पाए । उनीहरु मलाई भेट्न आए । किन आए थाहा छ- किनभने म सेनाको पनि रक्षामन्त्री थिएँ । २०५१ सालमा रक्षामन्त्री भएपछि प्रधानसेनापतिलाई पनि सञ्चालन गर्नुपर्छ । म कडा रक्षामन्त्री थिएँ,’ उहाँले भन्नुभयो, ‘प्रधानसेनापतिलाई जागिरबाट निकालिदिएँ । भ्रष्टाचार गरेको हुनाले । त्यो बेलामा राजा वीरेन्द्र थिए । वीरेन्द्रले भने एकपटक माफ दिइदिनुस् न त भने मैले भने माफी दिन सकिँदैन । यस्ता मान्छेलाई राखेर नेपाली सेनाको इज्जत बढ्न सक्दैन । म रक्षामन्त्री भएका बेलामा नेपाली सेनामा महिलालाई भर्ना गरिँदैन थियो ।’

नेपाली सेनामा महिला भर्नाका लागि पनि आफूले थालनी गरेको उहाँको दाबी छ । उहाँले नेपालीहरु हरेक क्षेत्रमा प्रतिभाशाली र योग्य रहेको पनि जनाउनुभयो ।

उहाँले नेपाली विद्यार्थी र युवा पुस्ताले विभिन्न क्षेत्रमा कीर्तिमान कायम गरेको उल्लेख गर्दै नेपाली युवा अध्ययन, अनुसन्धान, खेलकुदलगायत सबै क्षेत्रमा प्रतिभाशाली रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नयाँ विद्यार्थी, नयाँ युवाहरु एक सय एक प्रतिभाशाली छन् । संसारमा पनि कीर्तिमान कायम गरेका छन् । नेपाली युवाहरु जुनसुकै क्षेत्रमा पढाइको क्षेत्रमा होस्, अनुसन्धानको क्षेत्रमा होस् । चाहे सगरमाथा आरोहण गर्ने क्षेत्रमा होस् । युद्धको मैदानमा होस् । ब्रिटिस सेनालाई पराजित गर्ने हिम्मत गर्ने नेपाली गोरखा सैनिक हो ।’

अध्यक्ष नेपालले विद्यार्थी अनुशासित भएर बस्नुपर्ने बताउनुभयो । अनुशासित भए मात्रै राम्रो जीवनयापन गर्न सकिने उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.