बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका बहादुरसिंह लामा नियुक्त

श्रावण ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका बहादुरसिंह लामा नियुक्त

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा नियुक्त हुनुभएको छ । उहाँलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशको मुख्यमन्त्रीमा मंगलबार नियुक्त गर्नुभएको हो ।

प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ (२) बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्ति गर्नुभएको हो । लामाले आजै दिउँसो कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।

लामालाई मुख्यमन्त्री बनाउन नेपाली कांग्रेसका ३७ र एमालेका २७ सांसदले हस्ताक्षर गरी दाबी पेस गरिएको थियो । मुख्यमन्त्रीको शपथग्रहण भने भोलि (बुधबार) बिहान ११ बजेका लागि तय भएको छ ।

यसैबीच बागमती प्रदेशमा एमाले र कांग्रेसबीच मन्त्रालय भागबन्डा पनि मिलेको छ । कांग्रेसले ७ र एमालेले ६ मन्त्रालय लिने सहमति भएको हो ।

यस्तै लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले भोलि (बुधबार) मात्रै शपथ गर्नुहुने भएको छ । एमालेबाट मुख्यमन्त्री बन्नुभएका आचार्यले कांग्रेससँग मन्त्रालय भागबन्डा मिलाएपछि मात्रै शपथ गर्न लाग्नुभएको हो । लुम्बिनीमा अहिलेसम्म मन्त्रालयको भागबन्डा मिलिसकेको छैन । मन्त्रालय बाँडफाँटपछि मन्त्रीसमेत टुंगो लगाएर शपथ गर्ने उहाँको तयारी छ ।

यता कोशी प्रदेशमा भने माओवादी केन्द्रबाट मन्त्री बनेकाहरूले सरकारबाट बाहिरिने कुनै छाँट देखाएका छैनन् । राजनीतिक समीकरण परिवर्तन भइसक्दा पनि माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट नबाहिरिएको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अब केही दिनभित्रै केन्द्रीय सत्ता गठबन्धनअनुसार सरकार पुनर्गठन गरिने जानकारी दिनुभयो ।

उता मुख्यमन्त्री दीर्घराज सोडारी नै अनुपस्थित भएपछि सुदूरपश्चिम प्रदेशसभाको विशेष अधिवेशन नै चल्न सकेन । नेपाली कांग्रेस र नेकपा एमालेका प्रदेशसभा सदस्यहरुको आग्रहमा विशेष अधिवेशन बोलाइएको भए पनि मुख्यमन्त्री सोडारी अनुपस्थित भएपछि बैठक चल्न नसकेको हो । कांग्रेस र एमालेले प्रदेशसभाको विशेष अधिवेशनमा मुख्यमन्त्री अनुपस्थित हुनु गैरजिम्मेवार र प्रदेश प्रमुखको अपमान भएको बताएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.