सदनमा सांसदहरुको व्यङ्ग्य गीत...

असार २४, २०८१ |रमेश धमला
सदनमा सांसदहरुको व्यङ्ग्य गीत...

काठमाडौं । प्रतिनिधिसभामा बाढी-पहिरो र डुबानसहित विपद्‌को विषय उठिरहँदा सरकार फेरबदलको प्रसंगमा सांसदहरुले गीतका टुक्का सुनाएर एक-अर्कालाई व्यङ्ग्यवाण प्रहार गरेका छन् । आजकै बैठकमा सांसदहरुले एक-अर्कालाई व्यङ्ग्य र आलोचना गर्न नीतिकथादेखि गीतसम्मको सहारा लिए ।

‘यस्तो पनि हुँदो रैछ जिन्दगी...’ गीतको सुरुवात गर्नुभयो नेकपा एमालेका सांसद ठाकुर गैरेले । प्रतिनिधिसभा बैठकको सुरुमै आकस्मिक समय लिएर सांसद गैरेले सरकारले बहुमत गुमाएको प्रसंग गीतसँग जोड्नुभयो ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि आफ्ना मन्त्रीहरुले राजीनामा लिएर जाँदा प्रधानमन्त्रीले फत्तेमानको गीत ‘यस्तो पनि हुँदो रै’छ, जिन्दगीमा कैले कैले...’ गाएको प्रसंग सुनाउनुभयो । अनि उहाँले प्रधानमन्त्रीकै लागि अन्जु पन्तको गीत स्मरण गराउनु्भयो । भन्नुभयो, ‘तिमीले पराइ ठानेपछि...।’

पालो आयो माओवादी केन्द्रका पूर्णबहादुर घर्तीको । उहाँले कुन्ति मोक्तानको गीतको अन्तरा नै सुनाउनुभयो । कांग्रेस र एमालेबीचको सहमति मुरलीधरको ‘उडायो, सपना हुरीले...’ जस्तै नहोस् भन्ने उहाँको व्यङ्ग्य थियो ।

सांसद घर्तीले बाहुन र गोहीको नीति कथा सुनाइरहँदा कांग्रेस सांसद राजेन्द्र बजगाईले आपत्ति जनाउनुभयो । पछि थाहा भयो, खासमा सांसद बजगाईंको आपत्ति नीतिकथाको पात्र ब्राह्मणका बारेमा रहेछ ।

सत्ता पाउन लागेका र गुमाउँदै गरेका दलहरुले गीत र नीतिकथाका टुक्का सुनाउँदा अरु केही सांसदले त्यसमा पनि व्यङ्ग्य थपे । सांसदहरुले भनेजस्तो गीत, उखान र टुक्काका छेडखानी र व्यङ्ग्यमा मात्र संसद्‌को अमूल्य समय खेर नजाओस् । अहिलेलाई यति मात्र भन्न सकिन्छ ।

हेर्नुहोस् रमेश धमलाका थप स्टोरी ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement