फ्रेन्चाइजी लिगले खेलाडीको एक्सपोजरमा सहयोग

आश्विन २०, २०८१ |प्रदीप लेखी
फ्रेन्चाइजी लिगले खेलाडीको एक्सपोजरमा सहयोग

काठमाडौं । खेलाडीले खेलेरै बाँच्न सक्ने स्थिति सिर्जनाका प्रयासरत नेपाल भलिबल संघले इन्फिनिटी ड्रिम्स प्रालिको सहकार्यमा यही असोज १४ देखि १९ गतेसम्म महिला फ्रेन्चाइजी लिग भलिबल आयोजना गर्‍यो । प्रतियोगितामा हरेक टिममा तीन विदेशी खेलाडीसहित नेपाली खेलाडीले आफ्नो प्रतिभा देखाउने मौका पाए । यसले खेलाडीलाई म्याच एक्सपोजरका साथै आर्थिक आयआर्जनमा समेत सहयोग मिलेको छ ।

फुटबल र क्रिकेटमा फ्रेन्चाइजी लिग प्रतियोगिता भइरहे पनि भलिबलमा भने पहिलोचोटि यस्तो प्रतियोगिता आयोजना भएको हो । यसले नेपाली भलिबलको उचाइ त बढेको छ नै, खेलाडीलाई घरेलु कोर्टमै म्याच एक्सपोजरसहित खेलाडी र प्रशिक्षकलाई आर्थिक रुपमा केही हदसम्म सबल बनाएको छ ।

प्रतियोगितामा राष्ट्रिय टिमका सबै खेलाडी कुनै न कुनै टिममा अनुबन्ध थिए । राष्ट्रिय टिमबाहिरका युवा खेलाडी पनि ट्यालेन्ट हण्टबाट लिगमा समावेश भए । यसले युवा खेलाडीलाई आफ्नो प्रतिभा देखाउने मौका मिलेको छ भने अन्य खेलाडीका लागि पनि विदेशी लिग खेल्ने बाटो खुलेको छ ।

दाता र स्पोन्सरका भरमा चल्दै आएको नेपाल भलिबल संघलाई भलिबलमै खेलाडी टिकाइ राख्न निकै चुनौती थियो । त्यसैले यस्ता फ्रेन्चाइजी लिगले केही हदसम्म संघलाई पनि राहत मिलेको छ ।

विदेशी खेलाडी पनि नेपालमा लिग भलिबल खेल्न पाउँदा निकै उत्साही देखिए । नेपाली खेलाडी र दर्शकको मायालुपनले गर्दा टिम नै एउटा परिवारजस्तो महसुस भयो भने यहााको हावापानी र प्राकृतिक सौन्दर्यता निकै मनपर्‍यो । तर प्रतियोगितामा बीच-बीचमा ब्रेक पाएको भए अझै राम्रो हुने उनीहरुको भनाइ छ ।

नेपाली भलिबललाई माथि उठाउने आधारको रुपमा फ्रेन्चाइजी महिला लिग भलिबललाई हेरिएको छ । यो प्रतियोगिताले केही नयाँ युवा खेलाडीलाई मार्की खेलाडी मात्र बनाएन, कप्तानको भूमिकासमेत दिलाएको छ । युवा खेलाडीले पाएको उच्च अनुभवले आउने दिनमा राष्ट्रिय टिमको बेञ्च समेत बलियो बनाउने विस्वास भलिबल संघले लिएको छ ।


Image

प्रदीप लेखी

लेखी कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement