बाढीपहिरोका कारण बाटोमै सामान रोकिएपछि व्यापारी मर्कामा

आश्विन २०, २०८१ |भरत रावल
बाढीपहिरोका कारण बाटोमै सामान रोकिएपछि व्यापारी मर्कामा

काठमाडौं । चाडपर्वको मुखैमा आएको बाढीपहिरो र राजमार्ग अवरोधको प्रत्यक्ष मार व्यापारीलाई पनि परेको छ । एकातिर बाढीपहिरोले कतिपय बजार नै तहसनहस बनाएको छ भने अर्कोतिर चाडपर्वलाई लक्ष्य गर्दै आयात गरिएका सामान बाटोमै अलपत्र पर्दा बजारमै पुग्न सकेका छैनन् । बजारमै पनि विगतजस्तो उत्साह नदेखिएको व्यवसायी बताउँछन् ।

दशैं नजिकै आइसकेको अवस्थामा व्यापारीहरुले दशैंलक्षित सामान धमाधम आयात गरिरहेका थिए । सामानहरु संघीय राजधानी र देशका अन्य भेगमा पुग्ने क्रम जारी रहेका बेला बाढीपहिरोले प्रमुख राजमार्ग र पुल बगाएपछि सबैतिरको सम्पर्क टुट्यो । सामानहरु बीचमै अड्किए, बजारसम्म पुग्नै पाएनन् ।

३० ठाउँमा त राजमार्ग अझै अवरुद्ध छन् । उपभोग्य सामान बजारमा पुग्न त यसै पाएनन्, खुलेका बजारमा चहलपहलसमेत देखिँदैन । वर्षाले सडक र पुलमात्रै होइन अर्थतन्त्र नै तहसनहस बनाएको व्यवसायीको भनाइ छ ।

दशैं शहरको पुँजी गाउँसम्म पुर्‍याउने माध्यम हो । तर यस पटक शहरका खरिद क्षमता भएका उपभोक्ता गाउँ पुग्नै सकेका छैनन्, जसले गर्दा ग्रामीण क्षेत्रका बजार पनि उत्साह छैन । गाउँमा उत्पादित खसिबोका, भेडाच्यांग्रासमेत सहजै शहर ल्याउन सकिने अवस्था छैन । विगतका वर्षहरुको तथ्यांक हेर्ने हो भने दशैंको समयमा मात्रै १० खर्बभन्दा बढीको कारोबार हुने गथ्र्यो । तर, यस वर्ष यही बेला आएको बाढीपहिरोले बजार सुस्त हुँदा आर्थिक गतिविधिलाई थप नाजुक बनाएको छ ।

सरकारले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार बाढीपहिरोले १७ अर्बभन्दा बढीको क्षति भएको उल्लेख गरेको छ । निजी सम्पत्तिमा भएको क्षतिको त अहिलेसम्म कुनै लेखाजोखा नै छैन ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement