‘‘प्रधानमन्त्री दाहालले बरु ‘उडायो सपना सबै हुरीले’ भन्ने गीत गाए हुने नि’’

संसद्‌मा ठाकुर गैरे : सरकार घोर अल्पमतमा परेको छ तर बाँसुरी बजाइरहेको छ
‘प्रधानमन्त्री संविधानमा प्वाल खोज्दै हुनुहुन्छ’
असार २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘‘प्रधानमन्त्री दाहालले बरु ‘उडायो सपना सबै हुरीले’ भन्ने गीत गाए हुने नि’’

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल अल्पमतमा परेको भए पनि संविधानमा प्वाल खोजेर बसिरहेको बताउनुभएको छ ।

आज प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसद गैरेले ‘रोम जलिरहेको बेला राजा निरोले बाँसुरी बजाएको’ सन्दर्भ निकाल्दै सरकार अल्पमतमा परेको तर बाँसुरी बजाइरहेको टिप्पणी गर्नुभयो । ‘सरकारको कुरा के गर्नु हामीले बेला बेलामा सुन्दै आएको, पढ्दै आएको- आज पनि उद्धरण हुँदै गरेको कुरा : रोम जलिरहेको बेला राजा निरोले बाँसुरी बजाएर बसेको भनेजस्तै देशमा सरकार घोर अल्पमतमा परेको छ तर बाँसुरी बजाइरहेको छ,’ उहाँले भन्नुभयो, ‘सरकार घोर अल्पमतमा परेको छ, यस्तो पनि हुँदोरहेछ कहिले कहिले भनेर गीत गाएर बसिराखेको छ । बरु उडायो सबै सपनाहरू हुरीले भन्ने गीत गाए हुने नि ।’

उहाँले प्रधानमन्त्रीले संविधानमा प्वाल खोज्दै बस्नु भन्दा नयाँ सरकार गठनका लागि सहजता प्रदान गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । प्रधानमन्त्रीले नयाँ सरकार बन्न नदिनका लागि संविधानमा प्वाल खोजिरहेको सांसद गैरेको आरोप छ । प्रधानमन्त्रीले नयाँ बन्ने सरकारलाई अस्थिरता, विभाजन र बेथितितिर लैजान सकिन्छ कि भनेर प्रयास गरिरहेको आरोप पनि उहाँले लगाउनु भयो । 

उहाँले सरकारले विपद् प्रतिकार्यका लागि बनाएको कुनै पनि योजनाहरू कामयाबी हुन नसकेको पनि बताउनु भयो । बहुमत गुमाएपछि सरकारमा एक सेकेन्ड बस्न पनि नैतिक आधार नरहने भन्दै उहाँलै कुनै धारा वा उपधारा नखोज्न प्रधानमन्त्रीलाई आग्रहसमेत गर्नु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement