खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको बिक्री सुरु

आश्विन २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको बिक्री सुरु

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजबाट खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गरेको छ ।

दसैंको अवसरमा कम्पनीले आजबाट खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गरेको हो । गत वर्ष घटस्थापनादेखि नै बिक्री सुरु गरेको भएपनि यस वर्ष विपद्जन्य घटनाका कारण समयमै खसीबोका र च्याङ्ग्रा नआइपुग्दा आजबाट मात्रै बिक्री सुरु गरेको हो ।

खसीबोका १४ सय र च्याङ्ग्रा ३ सय खरिद गर्ने कार्यक्रमअनुसार कम्पनीसँग अहिलेसम्म ६८६ खसी, बोका र च्याङ्ग्रा प्राप्त गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी वागमती प्रदेश प्रमुख ज्ञानु थापाले बताउनु भयो । उहाँले च्याङ्ग्रा मुस्ताङबाट र खसीबोका नवलपुर, हेटौँडा र दाङबाट ल्याइएको बताउनु भयो । उहाँले अघिल्लो वर्ष ५४२ वटा च्याङ्ग्रा, १ हजार ६०२ खसीबोका विक्री गरेको जानकारी दिनुभयो । उहाँले गतवर्षको भन्दा यस वर्ष खसीबोकामा प्रतिकेजी १० रुपैयाँ सस्तोमा बिक्री गरिएको बताउनु भयो । उहाँले यस वर्ष खसी बोकाको ६७० र च्याङ्ग्राका १२३० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुट दिएर बिक्री गरिरहेको बताउनु भयो ।

उहाँले कम्पनीले स्वस्थ खसीबोका र च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी स्वस्थ खसिबोकालाई हरियो रङ लगाएको बताउनु भयो । एक जनालाई एउटा भन्दा बढी उपलब्ध नगराइएको बताउनु भयो ।

मुख्य चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न हरेक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गर्छ । खाद्यसँगै अरु निजी व्यापारी र व्यवसायीले पनि खसीबोका खरिद गरी काठमाडौं ल्याएर बिक्री गर्न थालिसकेका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement