अनुसन्धानमा सघाउन समस्याग्रस्त २९ वटै सहकारी सञ्चालकलाई छानबिन समितिको निर्देशन

असार २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
अनुसन्धानमा सघाउन समस्याग्रस्त २९ वटै सहकारी सञ्चालकलाई छानबिन समितिको निर्देशन

काठमाडौं । सहकारी संस्था बचत तथा रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त २९ वटै सहकारी सञ्चलकलाई समितिमा उपस्थित हुन निर्देशन दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको संसदीय छानबिन विशेष समितिले अनुसूचीमा रहेका २९ वटै सहकारीका सञ्चालकलाई समितिमा उपस्थित भई अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको हो । समितिको बैठकबारे जनकारी गराउँदै समितिका सभापति सूर्यबहादुर थापाले अनुसूचीमा रहेका २९ वटै सहकारीहलाई छानबिनको दायरामा, समन्वय, सम्पर्कमा, समितिको अनुसन्धानमा उपलब्ध भएर सहयोग आग्रह गरेको बताउनुभयो ।

‘२९ वटा जुन सहकारी अनुसूचीमा हुनुहुन्छ, जो समस्याग्रस्त र विभिन्न कारणले विवादमा रहनुभएका उहाँहरु छानबिनको दायरामा, समन्वय, सम्पर्कमा, समितिको अनुसन्धानमा उपलब्ध भएर सहयोग गर्नुस्, उपलब्ध हुनुस्, उपलब्ध भएर सूचना दिनुस्, देश विदेशमा जता हुनुहुन्छ, त्यो भूमिका खेल्नुस् । कानुनबमोजिम नै यो अपिल गरेका छौं,’ सभापति थापाले भन्नुभयो, ‘हामीले गृहसचिव, प्रहरी महानिरीक्षकसहित अर्को छलफल गर्नेगरी भोलिका लागि जानकारी गराएका छौं ।’

उहाँले सहकारी सञ्चालकहरुलाई कानुनअनुसार उपस्थित हुन आग्रह गरेको भन्दै उहाँले उपस्थित नभए कानुनबमोजिम नै कारबाही हुने चेतावनी दिनुभयो । उहाँले समितिले गृहसचिव, प्रहरी महानिरीक्षकसहितलाई समेत शुक्रबार बस्ने बैठकमा उपस्थित हुन आग्रह गरेको बताउनुभयो ।

‘आज हामीले महालेखापरीक्षक तोयम राया, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रमुख, महानिर्देशक कमलप्रसाद भट्टराई र सहकारी विभागका रजिस्ट्रार पीताम्बर घिमिरेसहितका अधिकारीलाई जानकारीका लागि आमन्त्रित गरेका थियौं,’ उहाँले भन्नुभयो, ‘महालेखाको ६०औं र ६१औं प्रतिवेदनमा पनि सहकारी क्षेत्रका समस्याबारे उल्लेख भएको छ । २०७५ सालदेखि नै महालेखाका प्रतिवेदनहरुमा सहकारी क्षेत्रमा देखापरेका समस्याहरुका सन्दर्भमा उल्लेख भएको पाइन्छ । यद्यपि महालेखाको सीधै कार्यक्षेत्र सहकारी संस्थासँग जोडिँदैन । नियमनकारी निकाय छ तर त्यसलाई चाहिने स्रोत-साधन, जनशक्ति छैन । वित्तीय विषय हेर्नुपर्नेछ, प्रशासनिक जनशक्ति छ, न्यून जनशक्ति छ, कानुनबमोजिमका संयन्त्र बनेका छैनन् ।’

उहाँले बिहीबारको बैठकमा महालेखापरीक्षक तोयम राया, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रमुख, महानिर्देशक कमलप्रसाद भट्टराई र सहकारी विभागका रजिस्ट्रार पीताम्बर घिमिरेसहितका अधिकारीलाई बोलाएर सहकारी प्रकरणबारे जानकारी लिएको पनि जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement