सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा कार डुब्दा दुई जनाको मृत्यु भएको छ ।
बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा आज बिहान डुबेको हो । मृत्यु हुनेमा गौशाला नगरपालिका–१० का सुरेश महतो र सोनवा गाउँपालिका–८ का रामाकान्त ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार घटनालगत्तै खोजी तथा उद्धारका लागि पुगेको प्रहरी टोलीले बेपत्ता भएका दुई जनालाई फेला पार्न नसकेपछि बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली बोलाइएको थियो । गोताखोरको टोलीले कार समेत फेला पारेको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।