काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी आर्यना साबालेन्का समूहमा अपराजित रहँदै डब्लुटीए फाइनलको सेमिफाइनलमा प्रवेश गरेकी छन् ।
राउन्ड रोबिन लिगमा इटालिकी चौथो वरियता प्राप्त जस्मिन पाओलिनीलाई सोझो सेटमा पराजित गर्दै साबालेन्का अन्तिम चारमा प्रवेश गरेकी हुन् । उनले पाओलिनीलाई ६-३ र ७-५ ले हराएकी हुन् । २६ वर्षीय साबालेन्का यस वर्षको अन्त्य विश्व वरियाताको शीर्ष स्थान कायमै रहेर गर्ने योजनामा छिन् ।
बुधबार खेलिने समुह चरणको खेलमा एलेना रिबाकिनामाथिको जित वा उनकी प्रतिद्वन्द्वी पोल्यान्डकी इगा स्विटेकको हारले बेलारुसकी साबालेन्का वर्षको अन्त्य शीर्ष स्थानमा कायमै रहरेर गर्ने छिन् ।
अर्को खेलमा चिनकी झेङ क्विन्वेनले रिबाकिनालाई पराजित गरेपछि साबालेन्का समूहको पहिलो स्थानमा रहदै सेमिफाइनलमा प्रवेश गरेकी हुन् । अष्ट्रेलियन ओपन र युएस ओपन च्याम्पियन सबालेन्काले आफ्नो पहिलो खेलमा सातौं वरियताकी झेङलाई पराजित गरेकी थिइन् ।
सन् २०१३-२०१४ मा सेरेना विलियम्सपछि विश्व नम्बर एकको रूपमा ब्याक टु ब्याक डब्लुटीए फाइनलको सेमिफाइनल पुग्ने साबालेन्का पहिलो खेलाडी हुन् ।