कबाडी व्यवसायीलाई सांसद अमरेशकुमार सिंहको आग्रह- फोहोर बालेनको घर अगाडि लगेर थुपारौं

असार ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
कबाडी व्यवसायीलाई सांसद अमरेशकुमार सिंहको आग्रह- फोहोर बालेनको घर अगाडि लगेर थुपारौं

काठमाडौं । सांसद अमरेशकुमार सिंहले कबाडी व्यवसायीलाई फोहोर बालेनको घर अगाडि लगेर थुपार्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले काठमाडौं महानगरपालिकाले कबाडी व्यवसाय सञ्चालन गर्न निदएको र आन्दोलनमा कुटपिट गरेको भन्दै व्यवसायीलाई यस्तो आग्रह गर्नुभएको हो ।

'बालेनजीले सिकाउनुभएको छ । यदि काम भएन भने त्यहीँ लगेर फोहोर थुपार्ने हो,' उहाँले भन्नुभयो, 'उहाँले नै सडकविभाग अगाडि लगेर फोहोर थुपार्नुभएको छ । सबै कबाडी व्यवासायीलाई अनुरोध गर्छु सबै फोहोर बालेन शाहको घर अगाडि लगेर थुपारौं । त्यसको लागि हामी साथमा छौं ।'

पाटन उच्च अदालतले कबाडीलाई नहटाउनु भनेर दिएको आदेश पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नमानेको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो । 'मधेसका कबाडी व्यवसायी आन्दोलनरत छन् । पाटन उच्च अदालतले पनि उनीहरुको कबाडीलाई नहटाउनु भनेर । उनीहरुले शान्तिपूर्ण आन्दोलन गर्दा लाठी चार्ज भयो,' उहाँले भन्नुभयो ।

उहाँले देशमा अहिले पनि रंगभेद रहेको दाबी गर्नुभयो । एउटा समूहले आन्दोलन गर्दा पानीको फोहोर हान्ने र मधेसको मान्छेले आन्दोलन गर्दा घाइते हुनेगरी कुटपिट गरेको उहाँको आरोप छ । उहाँले कबाडीले व्यापार गर्न पनि नपाउने भन्दै प्रश्न पनि गर्नुभयो । बालेनले अदालतको आदेश नमानेको पनि उहाँको आरोप छ । 'पपुलिज्मको नाममा दुनियामा तानाशाही जन्मिएको छ । हिटलर पनि निर्वाचित भएर आएको थियो,' उहाँले प्रश्न गर्नुभयो, 'हिटलरको कारणले जर्मनीको के हाल भयो ? बालेनले पनि नेपाललाई जर्मनी बनाउन खोजेको हो ? पपुलिज्मको आडमा न्याय समाप्त गर्न खोजेको हो ?'


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement